२०८१ श्रावण १२
                           

‘थापा बुक्स अवार्ड’ सुमिनालाई

चौतारा- थापा बुक्स स्टोर चौताराले हरेक वर्ष प्रदान गर्ने ‘थापा बुक्स अवार्ड’ सुमिना घलेले प्राप्त गरेकी छिन् ।

चौतारा साँगाचोकगढी नगरपालिका– ६ स्थित सिद्धि कमलादेवी माविबाट एसईई परीक्षा २०७५ मा सहभागि भई सर्वोत्कृष्ट अंक (२.८५ जिपिए) प्राप्त गर्न सफल भएकी घलेलाई थापा बुक्स अवार्ड– २०७५ प्रदान गरिएको हो । सोमबार विद्यालयको ५९औं वार्षिक उत्सवको अवसर पारेर अवार्ड प्रदान गरिएको थापा बुक्स स्टोरका प्रोपाईटर कुमार थापाले जानकारी दिए । घलेलाई दुई हजार नगद पुरस्कार सहित अवार्डपत्र र मेडल प्रदान गरिएको थियो । अवार्ड जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले प्रदान गरेका थिए ।

‘सिद्धि कमलादेवी माविबाट एसईई परीक्षामा सहभागि भई सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई यो अवार्ड प्रदान गर्ने घोषणा गरेका छौं’, प्रोपाईटर थापाले भने– ‘जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नयनमा केहि टेवा पुगोस् भन्ने हेतुले अवार्डको स्थापना गरेका हौं ।’ आगामी वर्षदेखि जिल्लाका अन्य विद्यालयहरुबाट एसईई परीक्षामा सहभागि भई सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अवार्ड प्रदान गर्ने योजना रहेको थापाले बताए ।

अवार्डको स्थापना गरेर जेहेन्दार विद्यार्थीको शिक्षामा सहयोग गरेकोमा थापा बुक्स स्टोरप्रति आभार व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक पुस्कर रायमाझीले यो अवार्डले सिन्धुपाल्चोकको शिक्षा क्षेत्रमा एउटा इटा थपेको बताए ।

थापा बुक्स स्टोरले शिक्षा क्षेत्रबाट सामाजिक गतिविधिमा विभिन्न काम गर्दै आईरहेको छ । यस अघि चौतारा साँगाचोकगढी नगरपालिका– १ स्याउले स्थित सेतिदेवी माविलाई टेलिभिजन प्रदान गरेको थियो । त्यहाँका बालविकासमा अध्ययन गर्ने बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउन टेलिभिजन प्रदान गरिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्