२०८१ श्रावण १२
                           

ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल तेस्रो

आयोजक ओमानसँग बिहीबार ६ विकेटले पराजय भएसँगै नेपाल पाँच राष्ट्र सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो भएको छ । नेपालमाथिको विजयले ओमान शतप्रतिशत नतिजाको साथ विजेता बनेको छ । 

ओमानले टस जितेपछि ब्याटिङमा आएको नेपाल अल अमेरात क्रिकेट मैदानमा ११ ओभरमै ६४ रनमा अलआउट भयो । नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो दोस्रो न्यून स्कोर हो । सन् २०१५ को विश्व ट्वान्टी–२० छनोटमा आयरल्यान्डसँग बेलफास्टमा नेपाल ५३ रनमै अलआउट भएको थियो ।

२७ रनभित्र ४ विकेट गुमाए पनि ओमानले ११.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । राउन्ड रोबिनका आधारमा सबै चार खेल जितेर ओमानले उपाधि हात पार्‍यो । आयरल्यान्ड ३ विजय र १ पराजयका साथ दोस्रो स्थानमा रह्यो । नेपाल दुई विजयका साथ तेस्रो स्थानमा रह्यो । पहिलो दुई खेलमा हङकङ र नेदरल्यान्डस्लाई पराजित गरेको नेपालले त्यसपछि आयरल्यान्ड र ओमानसँगको खेल गुमाउन पुग्यो ।

नेदरल्यान्डस् चौथो र हङकङ पाँचौं स्थानमा रह्यो । नेदरल्यान्ड्सले १ खेलमात्र जित्यो भने हङकङ सबै चार खेलमा पराजित भयो । नेदरल्यान्डस्को एकमात्र विजय हङकङसँग थियो ।

सुरजकुमारले अविजित ४२ रन बनाउँदै ओमानलाई विजय दिलाए । ओमानले १२ ओभरमा करण केसीलाई १६ रन प्रहार गर्दै खेल जितेको थियो । त्यसमा सुरजले दुई छक्कासहित १५ रन प्रहार गरेका थिए । सुरजले सन्दीप गोउडसँग पाँचौं विकेटमा २६ बलमा अविजित ३८ रन जोडे । त्यसमा गोउडको योगदान ७ बलमा ३ रन थियो ।

सन्दीप लामिछानेले पहिलो ओभरमै अकिब इल्यासलाई शून्यमा रनमा आउट गरी नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । करणले अमिर कलिमलाई ८ र नसिम खुसीलाई १ रनमा आउट गरे । सोमपाल कामीले खावर अलीलाई ९ रनमा आउट गरी नेपाललाई केही क्षण प्रतिस्पर्धात्मक स्थितिमा ल्याए पनि सुरजको इनिङसले खेल टुंगाएको थियो ।

युवा ओपनर इशान पाण्डे (२) लाई पहिलो ओभरमै गुमाएसँगैं नेपालको पतन सुरु भएको थियो । तेस्रो ओभरमा कप्तान पारस खड्का पनि ५ रनमै आउट भएपछि नेपालमाथि दबाब थपिएको थियो । आरिफ शेखले नेपालबाट सर्वाधिक २० रन बनाए । १३ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । उनकै कारण दीपेन्द्रसिंह ऐरी ११ रनमा आउट भए ।

विनोद भण्डारी ४, सन्दीप जोरा शून्य, सोमपाल र करण ८–८, सन्दीप र अविनाश बोहरा २–२ रनमा आउट भए । ओमानका देब्रेहाते स्पिनर अमिर कलिमले ५ विकेट लिए । उनले ४ ओभरमा १५ रन मात्र खर्चेका थिए । बिलाल खानले २ तथा मोहम्मद नदिम र खावर अलीले १–१ विकेट लिए ।

नेपालबाहेक अन्य चार राष्ट्र अर्को हप्ता यूएईमा सुरु हुने विश्व ट्वान्टी–२० छनोटमा प्रतिस्पर्धा गर्दै छन् । तीन महिनाअघि सिंगापुरमा भएको विश्व ट्वान्टी–२० एसिया क्षेत्रमा नेपाल तेस्रो भएपछि छनोटमा पुग्ने मौका गुमाएको थियो

प्रतिक्रिया दिनुहोस्