आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदको लागि नेपाली कांग्रेसले तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
शुक्रबार नेपाली कांग्रेस उपमहानगर कमिटिको पूर्ण बैठकले नगरसभापतिसमेत रहेका राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो। उनी २०७४ मंसिरमा भएको निर्वाचनमा तत्कालीन तारा सुब्बासँग पराजित भएका थिए। सुब्बाको २०७५ श्रावण १ गते निधन भएपछि धरानमा मेयर पद रिक्त रहेको थियो।
कार्यवाहक मेयर मन्जु भन्डारीले कार्यभार सम्हाल्दै आएको भए पनि आगामी मंसिर १४ गते उपनिर्वाचन तोकिएसँगै कांग्रेसले राइलाई उमेद्वार उठाउने निर्णय गरेको हो।
यसअघि, मेयरको उम्मेदवारमा कांग्रेस जिल्ला सचिव तथा प्रवक्तासमेत रहेका सुजेन्द्र गोले तामाङ र महाधिवेशन प्रतिनिधि पर्वत राई आकांक्षी थिए। तामाङले केही समय अगाडि मात्र आफू कार्यरत बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको जागीरबाटसमेत राजीनामा दिएका थिए।
आफूलाई कांग्रेसले मेयर पदमा उमेद्वार उठाउने निर्णय गरेसँगै राइले भने, ‘अब धरानको विकास र समृद्धिका लागि कांग्रेस एकताबद्ध रहेको छ, हामी उत्साहित छौं।’
यसअघि कांग्रेसको दोस्रो जागरण अभियानका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिजयकुमार गच्छदार, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, कृष्ण सिटौला, लगायतका नेताहरूले धरानमा हुने उपनिर्वाचनमा आफूहरूको ध्यानाकर्षण भएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्