२०८१ जेष्ठ ६

क्रिकेट संघको निर्वाचन : अध्यक्षमा चन्द, अन्तराष्ट्रिय निलम्बन फुकुवा हुन आशा

साढे तीन वर्ष लामो अन्तर्राष्ट्रिय निलम्बन भोगिरहेको नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिवार सम्पन्न निर्वाचनमा चतुरबहादुर चन्द अध्यक्षमा विजयी भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले २०७२ सालमा क्यानलाई निलम्बन गर्दाका अध्यक्ष चन्दले पूर्वअध्यक्ष समेत रहिसकेका विनयराज पाण्डेलाई २९ मतको भारी अन्तरले पराजित गरेका हुन्।

चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले जम्मा १५ मत मात्र प्राप्त गर्न सक्यो। सत्र सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा चन्द समूहको प्यानलले बहुमत प्राप्त गरेको बताइएको छ। निर्वाचनमा जिल्ला क्रिकेट सङ्घको ३९ र प्रदेशबाट २० प्रतिनिधि गरी ५९ जनाले मतदान गरेका थिए।

कसको कति मत?

चन्दको समूहबाट निर्वाचनमा सहभागी भएकाहरू उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुर्‍याल र कोषाध्यक्षमा रोशनकुमार सिंह विजयी भएका छन्।

आईसीसीले खडा गरेको स्वतन्त्र समितिले राष्ट्रिय खेलकुद परिषद्‌को रोहबरमा क्यानको निर्वाचन गरेको हो। निर्वाचन पर्यवेक्षण गर्न आईसीसीका प्रतिनिधि काठमान्डूमा छन्।

निर्वाचनपश्चात् नयाँ कार्यसमिति गठन भएपछि आईसीसीले नेपाल क्रिकेट सङ्घमाथि लगाँउदै आएको निलम्बन फुकुवा हुने भनिएकोले यो निर्वाचनलाई निकै महत्त्वका साथ हेरिएको छ।

निर्विरोध

चार पदाधिकारीबाहेक १३ सदस्य पदका लागि भएको निर्वाचनमा भने ६ जना सदस्य निर्विरोध भएका छन्।

प्रत्येक प्रदेशबाट एकजना सदस्य निर्वाचित हुने प्रावधान अनुसार प्रदेश २ मा दाउद अन्सारी, प्रदेश ४ मा ऋषि गौतम, प्रदेश ५ मा प्रशान्त विक्रम मल्ल, प्रदेश ६ मा पदम खड्का र प्रदेश ७ विक्रम विष्टको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन्।

त्यस्तै एक महिला सदस्य पदमा जयन्ती भट्ट एक मात्र महिला सदस्य भएपछि उनी स्वतः निर्विरोध भइन्।

प्रदेश १ र ३ मा भने दुई-दुई जनाको उम्मेदवारी परेको थियो। जसमा प्रदेश १ सदस्यमा कैलाश विष्ट तथा प्रदेश ३ मा अमितवीर पाण्डे विजयी भए।

प्रदेशका उम्मेदवारलाई पनि ५९ जना प्रतिनिधिले मतदान गरेका थिए। खुला सदस्यहरूबाट ५ जना चुनिनेमा ११ जनाको उम्मेदवारी परेको थियो।

जसमा वीरेन्द्रबहादुर चन्द, दुर्गाराज पाठक, करण महोत्रा क्षेत्री, माधव कुमार कर्माचार्य र संजयराज सिंहले उम्मेदवारी दिएका छन्। आईसीसीको नयाँ रोडम्याप अनुसार जिल्ला क्रिकेट सङ्घ, प्रदेश कमिटी र केन्द्रीय समितिको नयाँ ढङ्गबाट निर्वाचन भएको हो।

निर्वाचन गर्नका निम्ति गठित पाँच सदस्यीय स्वतन्त्र समितिमा आईसीसीको तर्फबाट ३ तथा खेलकुद परिषद् र क्यानका तर्फबाट एकजना प्रतिनिधि छन्। नयाँ निर्वाचनपछि क्रिकेटको निलम्बन फुकुवा हुने र पछिल्ला सबै समस्याको समाधान हुने क्रिकेट प्रेमीहरूले विश्वास गरेका छन्। बीवीसी

प्रतिक्रिया दिनुहोस्