चौतारा- चाडपर्व नजिकिदै गर्दा यात्रुहरुको सुविधालाई ध्यानमा राखेर सिन्धु पाँचपोखरी यातायात सेवा प्रा.लि.ले सार्वजनीक यातायात सेवा सुरु गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै अरनिको यातायातको सिण्डिकेट तोडिएको बताए । ‘वषौंदेखि अरनिको यातायतले चलाउँदै आएको सिण्डिकेट तोडिएको छ’, प्रमुख तामाङले भने– ‘यसलाई कायम राख्न यातायात सेवा प्रा.लि.ले ध्यान पु¥याउन जरुरी छ ।’ सेवा सुभारम्भ भएकोमा शुभकामना व्यक्त गर्दै तामाङले अन्य यातायातले भन्दा सेवा, सुविधामा बृद्धि गर्न सके भविश्य सुनिश्चित भएको बताए । ‘तपाईंहरु राम्रोसँग यात्रुहरुलाई सेवा दिनुस् नगरपालिका सदैब तपाईंको साथमा छ’, तामाङले भने । उनले अबका दिनहरुमा यात्रुले सहज रुपमा यात्रा गर्न पाउनेमा आफू विश्वस्त रहेको बताए ।
यातायात सेवा प्रा.लि.ले चौतारा टुँडीखेलबाट काठमाण्डौको कोटेश्वर र चावहीलसम्म र पुनः सोही रुटबाट फिर्ता हुने गरी जम्बो हाइस ए/सी माइक्रो बस र टाटाका डिलक्स बसहरुबाट सेवा सञ्चालन प्रदान गर्ने प्रा.लि.का अध्यक्ष खिलबहादुर श्रेष्ठले जानकारी दिए । ‘यात्रुहरुले अहिले तिरिरहेको भन्दा कम शुल्कमा अहिले प्राप्त गरिरहेका भन्दा ज्यादा सेवा सुविधा प्रदान गर्नेछौं’, श्रेष्ठले भने– ‘यसबाट यात्रुहरुले सहज रुपमा सस्तो र आरमादायी सेवा प्राप्त गर्नेमा हामी विश्वस्त छौं ।’ हाल चौतारा बजारबाट काठमाण्डौसम्मको सेवा प्रदान गरेपनि यात्रुको माग र कम्पनीको क्षमता बढाउदै निकट भविश्यमा नै सिन्धुपाल्चोकका सबैजसो बजार र ग्रामीण इलाकाहरुमा यातायात सेवा पुर्याउने लक्ष्य राखिएको उनले बताए ।
यातायात सेवा चौताराबाट बिहान ६, ७, दिउँसो २, ३ र ४ बजे सञ्चालन हुने जनाईएको छ । त्यस्तै चाबाहिलबाट बिहान ५ः३०, ६ः२०, ७, दिउँसो १ः३०, २ः३० र कोटेश्वरबाट बिहान ६, ७, ७ः३०, दिउँसो २ र ३ बजे सञ्चालन हुने जनाईएको छ । यातायात सेवा प्रा.लि.ले यात्रुहरुलाथ थप सुविधा प्रदान गर्ने समेत जनाएको छ । माइक्रो बसमा यात्रा गर्दा काठमाण्डौसम्मको लागि २ सय ७५ रुपैंया भाडा लाग्नेछ र सो बापत ३० केजी सम्मको सामानको थप भाडा नलाग्नुका साथै यात्रुलाई पिउने पानी निःशुल्क उपलब्ध गराउनले जनाएको छ । त्यस्तै ६१ वर्ष भन्दा माथिका यात्रुहरुको लागि भाडामा ५० प्रतिशत छुट दिने, तीन महिनासम्म हाल चलनचल्तीमा रहेको भाडामा १० प्रतिशत छुट प्रदान गरिने जनाएको छ ।
टिकट काउन्टर भने चौताराको लागि टुँडीखेल, नवलपुर चोक र ५ नं. वडा कार्यालयको अगाडी रहने र काठमाण्डौको लागि चाबहील, कोटेश्वर तथा नयाँ बसपार्कमा रहेको बताईएको छ । चाडपर्वमा यात्रुको आवागमनलाई सहज बनाउन यातायात सेवाले ध्यान पुर्याउने यातायात सेवा सञ्चालक धिरेन्द्र जोशीले प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्