२०८१ श्रावण १२
                           

काठमा बुट्टा कुँद्न अब्बल महिला

मकवानपुर, ७ असोज । विद्यार्थीलाई स्कूल जान हतार भएझैँ बिहान ९ः०० बजेपछि सविना लामा र बालकुमारी गौतमका पाइला छिटोछिटो चल्न थाल्छन् । उन्नाइस वर्षीया सविनासँगै उमेरले ५० की हेटौँडा उपमहानगरपालिका–५ पिप्लेकी बालकुमारीको ध्यान काठमा कस्ता बुट्टा दिने र कसरी आकर्षक बनाउने भन्नेमा हुन्छ ।

आफ्नो सीपबाट उद्यमी बन्ने सपना बोक्दै केही समयअघि काष्ठकलासम्बन्धी तालीम लिएकी उनीहरु अहिले भने आफ्नो समूहले सञ्चालन गरेको काष्ठ हस्तकला उद्योगमा नै बुट्टा कुँदेर आफ्नो रहर पूरा गर्न थालेका छन् । बुट्टा कुँदेर नै त्यसबाटै पैसा कमाउने सपना पूरा गर्नतर्फ लालायित छिन् बालकुमारी । उनले अहिले विभिन्न किसिमका फोटोफ्रेम, आँखीझ्याल, ढोका, झ्याल, मन्दिरको गजुरदेखि लिएर अन्य काष्ठकलासम्बन्धी बुट्टा कुँद्न पोख्त बनिसकिन् ।

उहाँ अहिले यस पेशाबाट सन्तुष्ट भएको बताउछिन् । उनले भनिन्, “म र मेरो श्रीमान् बल छउञ्जेल निर्माण पेशामा काम गरेर परिवार पाल्यौँ, तर अब हामी निर्माणकार्यमा काम गर्न नसक्ने भइसकेका छौँ, अब यो काम बसीबसी गर्ने भएकाले सजिलो पनि भएको छ ।”

मकवानपुरमा सामुदायिक वन उपभोक्ता समूहका महिलालाई वनबाट नै आर्थिक उन्नति गराउनका लागि अस्मिता नेपाल र हिमवन्तीको संयुक्त प्रयासमा सञ्चालन भएको तालीमबाट गत वर्ष सिक्ने अवसर पाई यसैमा व्यावसायिकरूपमा लाग्ने योजना बनाएका थिए ।

बालकुमारी र सपनाजस्तै अन्य ५० विपन्न वर्गका महिला एवं किशोरीले तालीम लिएर यसलाई पेशाका रुपमा विकास गरिसकेका छन् । यसै वर्ष स्नातकोत्तर सकेर बसेकी गढी गाउँपालिकाकी २२ वर्षीय मेरिना लामा पनि काष्ठकलालाई नै आफ्नो आर्थिक विकासको मुख्य स्रोत बनाउने योजनामा छिन् ।

सानैदेखि चित्र कोर्न औधी मन पराउने उनको परिवार मनकामना सामुदायिक वन उपभोक्ता समूहमा आश्रित छ । उहाँ पनि वन समूहको सदस्य भएकाले सो अवसर पाएका हुन् । “मैले स्नातक सकेकी छु, मलाई यो पेशा औधी मन परेकाले यसमा लाग्ने योजना बनाएकी हुँ” उनले भनिन् ।

पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहमा रहेका महिलाको समूहले उद्योग दर्ता गरी सो काम सञ्चालन गरिरहेका छन् । महिलाले उद्योग चलाउन थालेपछि यसमा आफ्नो भविष्य देख्न थालेको सविनाले बताइन् । मकवानपुरगढी गाउँपालिकास्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहका महिला पनि काष्ठकलामार्फत उद्यमी बनेका छन् । उनीहरुले बनाएका काष्ठ हस्तकला सामग्री मकवानपुरलगायत देशका अन्य शहरमा पनि बिक्री हुने गरेका छन् ।

काष्ठ हस्तकलासम्बन्धी तालीम दिँदै आएका प्रशिक्षक बाबुलाल वाइबाका अनुसार हाल काठका सामग्रीको बजार राम्रो छ । केही समयअघि तालीमको आयोजना गरेको संस्था अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले सामुदायिक वनले संरक्षण गरिरहेका महिलालाई आत्मर्भिर, आर्थिक सशक्तीकरण गराउँदै उद्यमशील बनाउन तालीम सञ्चालन गरिएको बताइन् ।

मकवानपुरमा सामुदायिक वन उपभोक्ता समूहका महिलालाई वनबाट नै आर्थिक उन्नति गराउन अस्मिता नेपाल र हिमवन्तीको संयुक्त आयोजनामा तालीम र औजारका साथै काठसमेत सहयोग गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्