२०८१ श्रावण १२
                           

-चन्द्रप्रसाद न्यौपाने

ॐ को मङ्गल कामना चरणमा पैलो गरुँ आरती
ॐ मै छन् सब सृष्टि सिर्जित कला चल्दै रहेको गति
ॐ हो शून्य अनन्त आदि कुन खै दुर्भेद्यको चालमा
यौटा चक्र बनेर घुम्दछ सधैं यो विश्व—ब्रम्हाण्डमा

ॐ पृथ्वी जय जन्मभूमि सुन्दर कला जो सृष्टिको सिर्जना
खुल्ला व्योम समस्त विश्व भवमा गर्दै रहूँ सम्झना
सारा दृश्य अदृश्य सृष्टि जगका सम्पूर्ण प्राणीमन
सम्झी कीर्ति अगाध प्रेम मनले यो काव्यको अर्पण

ॐ मेरो मन उच्च शान जगको प्यारो बन्यो वर्ण यो
ॐ मै व्यक्त अव्यक्त छन् विषय छन् व्याख्या छ यो सृष्टिको
ॐ क्वै कारण हैन शास्वत छ यो हो सिर्जना सृष्टिको
ॐ नै दर्शन हो र चेतन–कला मेरो यही दृष्टि हो

ॐ साहित्य अखण्ड, नास नहुने पूर्वीयको मान्यता
ॐ मा संस्कृति छन् सुसंस्कृतिकला ॐ मै छ क्या ! सभ्यता
ॐ नै शुद्ध तटस्थ विश्वविजयी विज्ञान औ ज्ञान छ
ॐ को के गुणगान गाउँ अहिले सम्मान औ शान छ

ॐ हो चक्षु र दिव्यज्योति जगको जो वेदको मन्त्र हो
ॐ मा तत्व अनेक छन् प्रचुर छन् जो ज्ञानको यन्त्र हो
ॐ नै ईश्वर हो भनी जगतमा भन्नेहरु व्याप्त छन्
ॐ मा काव्य बनी हराउँ म भनी हिंड्ने महान् भक्त छन्

ॐ मीठो लय हो र छन्द पनि हो ऊ हो पिता ज्ञानको
ॐ नै धर्म अव्यक्त व्यक्त मनको विज्ञानको शान हो
ॐ विज्ञान र ज्ञान मिश्रित दुबै ऊ सृष्टिको मूल हो
ॐ बाटै सृजना भए जगतमा सत्चेत आमूल हो

ॐ चैतन्य सचेत चेत मनको ब्रम्हाण्डको मेल हो
ॐ मै ईश्वर वेद ग्रन्थसँग छन् शब्दार्थको भेल त्यो
ॐ को वर्णन आदि अन्त कुन हो सीमाबिनाको छ ऊ
ॐ ब्रम्हा छ अनन्त दिव्य भवमा नासेर नासिन्न ऊ

ॐ कै ज्ञान र शानबाट कविता भै कल्पना जन्मियो
थालूँ लेख्न म काव्य शुद्धरचना स्रेस्ता बनोस् भोलि यो
स्रेस्ता च्यात्न अनेक अड्चनहरु साम्ने खडा बन्दछन्
हो वा होइन, तर्कसञ्गत न भै यी मार्गमा छेक्दछन्

ॐ वाल्मीकि र व्यास पूर्व युगका संसारका चेतना
लेख्यौ सभ्य र शिष्ट सुन्दर कला मीठो थियो चिन्तन
श्रद्धा गर्दछु पूर्व योग्य कविमा मेरा तिनी प्रेरणा
पाएँ सादर लेख्न थालुँ कविता मीठो मिलोस् सान्त्वना

प्रतिक्रिया दिनुहोस्