२०८० फाल्गुन १४

उदाउँदो प्रविधिमा नेपालको भविष्य : युवा वैज्ञानिक विशेष खनाल

८ वर्षजति विदेश बसी, म नेपाल फर्किएको ८ महिना भएछ । विज्ञान-प्रविधिमा नेपालमै उच्चगुणस्तरीय अनुसन्धान गरिरहेका युवा वैज्ञानिकहरुको तर्फबाट कुराहरु राख्ने अवसर प्रदान गरिदिनुभएकोमा म नेपाल सरकारप्रति आभार प्रकट गर्दछु । उम्दो विज्ञान-प्रविधि र नवप्रवर्तनबाट आर्थिक-समाजिक रुपान्तरण गर्दै सुखी र समृद्ध नेपालीको अवस्था, एक युवा वैज्ञानिकको रुपमा मैले परिकल्पना गर्दा कस्तो होला त ।

आउनुहोस्, एकैछिन् संगै कल्पनामा डुबौँ :
स्याटलाईट र ड्रोनका आँकडाहरुबाट आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले, यस बर्ष कुन बाली कहिले लगाउने भन्ने दिएको सुझाव अनुसार खेती सकाएको खुशियालीमा मुसहर दाईले सम्पूर्ण छिमेकीहरुलाई बोलाई आफ्नो घरमा खाना खुवाउँछन् ।

आछामको पाखामा कुटु-कुटु गरी खन्ने, अनि मिलाएर बीउ छर्ने स-साना रोबोटका चर्तिकला हेरी आमा-समुदाय देउडामा नाचिरहेका हुन्छन् । सोही माहोलमा एउटी आमा अचानक भुईमा लड्छिन् । तुरुन्तै अाकस्मिक-उपचार सामग्री ड्रोनबाट त्यहाँ आईपुग्छ । देउडामा अघि नाचिरहेकी १२ कक्षाकी बहिनीले ती आमालाई सदरमुकामको साटो नजिकको हेल्थपोष्ट लगे पुग्ने कुरो ड्रोनमै आएको मोबाईल फोन जत्रो स्मार्ट अल्ट्रासउण्डलाई प्रयोग गरी थहा पाउँछिन् ।

पर्साका ७ कक्षे बालकसंगै खाना खाँदा उसको आमा छेवैमा भुनभुनाएको लामखुट्टे देखेर, डेङ्गु उन्मूलन गर्ने प्रविधि विकास गरेको अन्वेषण संस्था त्यहि खोला-पारि भएकाले भोलि छोरालाई त्यहाँ घुमाउन लाने सुनाउँछिन् ।

मनाङ्गका शेर्पा गुरुङ हजुरबुवा जनकपुर घुम्न जाँदा मिथिला संस्कृतिबारे guide हजुरआमाले मैथिलीमा सुनाएको कुरा स्मार्ट-earphone बाट शेर्पा गुरुङ भाषामा सुनेर मख्ख पर्छन् ।

दुई पुराना मित्रहरु एउटा रमाईलो पार्कमा भेटी स्मार्टफोनबाट ब्लकचेन वा अझ उन्नत प्रविधिबाट ढुक्कसंग जग्गा किनबेच गर्छन् ।

काठमाडौँको प्राचिनकालिन अवस्थाको जीवन्त अनुभूति गराईदिने virtual reality संग्राहलयमा रोमान्चित भई फर्किदै गरेका दुई केटकेटिहरु, त्यति बेलाका मन्दिर, पाटि-पौवा, पोखरी, ढुंगेधाराहरु सबै पुनरउत्थान गर्न कुन विषय अध्ययन गर्नुपर्छ होला है भन्दै गफिन्छन् । छेवैमा, संसारमा अधिक मूर्ति र हस्तकला विक्री हुने कम्पनीका शिल्पकार दाई दुर्घटनामा हात काटिएपछि फेरिएको आफ्नो 3D printed हातले मूर्तिमा बुट्टा कुँदिरहेका हुन्छन् ।

शारीरिक हाउभाउ र अनुहारको भावभंगीबाट मुड आफैँ थहापाई त्यसै अनुसारको गीत-संगीत बजाईदिने नेपालमा बनेको सफ्टवेयर App संसारको सबैभन्दा बढि प्रयोग गरिने App मा उक्लेको कुरो भाईरल भईरहेको छ ।

अब हामी अहिलेको यथार्थमा फर्कौ। के हाम्रा यी कल्पना भोलिका यथार्थ हुन सक्लान् त ? विज्ञानका हिसाबले त हुन सक्ने सम्भावना मज्जाले छ । तर, कल्पना जति मीठो हुन्छ त्यसलाई साकार पार्न हिँड्नुपर्ने बाटोले त्यत्तिकै कडा मेहेनत र इमान्दारिता खोज्छ ।

थुप्रै देशहरुको अनुभव र उत्कृष्ट उच्चशिक्षा लिई फर्किएर, अघि वृत्तचित्रमा देखाइएजस्तो कामहरु गरिरहेका नेपाली युवा वैज्ञानिकहरुको संख्या विगत ४-५ वर्षमा उल्लेख्य रुपमा वृद्धि भएको छ । त्यसरी नै नेपाल फर्किन एउट खुट्टा उचालेर बस्ने साथीहरु विदेशमा अझै थुप्रै छन् । त्यसरी खुट्टा उचाल्दा उचाल्दै झ्याम्मै हामफालेर यता आईसकेकाहरुलाई नेपाल सरकारबाट हुने सहयोग, दिगो कार्यक्रमहरु र नीतिगत स्पष्टताले, उता बसेकाको फर्किने वा नफर्किने भन्ने निर्णयमा भूमिका खेल्ने छ ।

राष्टृय विज्ञान नीति बनाउने क्रममा हामीसंग लिईएका सुझावहरुलाई उचित स्थान दिइएको छ भन्ने आशा गर्दै, अघि देखाइएको वृत्तचित्र निर्माणमा सहयोग, यस अन्तरक्रियाको आयोजना आदि सकारत्मक सुरुवातको लागि सरकारलाई धन्यवाद दिन चाहन्छु । दिवसहरु मनाउने, सम्मेलनहरु आयोजना गर्नु महत्वपूर्ण भए तापनि पूर्ण काम भने होइनन् । आउँदा दिनमा केहि ठोस कामहरु अनि दूरदृष्टिसहितको नीति र कार्यक्रमहरु आवश्यक छन् । यसरी गर्नुपर्ने कामहरुमा आज म ठूला-ठूला भन्दा पनि सरकारको लागि सानै तर महत्वपूर्ण असर गर्नसक्ने केहि कामहरुबारे प्रस्ताव राख्न चाहन्छु ।

पहिलो, विज्ञान र नवप्रवर्तन पार्क: एकछिन फेरि सोच्नुहोस् त! अघि वृत्तचित्रमा देखाइएका कामहरु गर्ने सबै वैज्ञानिक र विद्दार्थीहरु एउटै भवनमा बस्न पाए । सय-डेढसय जति मान्छेहरु दिनभरी खाली अध्ययन, अन्वेषण, अनुसन्धान र नवप्रवर्तनमा लिप्त, त्यसैमा वार्तालाप, नयाँ विचारहरुको मन्थन, नयाँ अभिनवि उत्पादनहरुको प्रयोग-परीक्षण । अहिले भएका १५-२० जना युवा वैज्ञानिक र उनीहरुसंग काम गर्ने सय-डेढसय जति विद्यार्थीहरु एउटै ठाउँमा बसेर काम गर्न इच्छुक छन् । यत्ति गर्नलाई सरकारले सहयोग गरिदिए त एउटा विश्वस्तरीय अनुसन्धान प्रयोगशाला र नवप्रवर्तन हब भएको विज्ञान-पार्क केहि महिनामै बन्न सक्छ, जहाँबाट २-३ वर्षमै आजको भन्दा १०-२० गुणा राम्रो नतिजाहरु देख्न सक्छौँ भन्नेमा म विश्वस्त छु । यस्तो ठाउँ उपलब्ध गराइदनु सरकारको लागि सानै काम हो जस्तो लाग्छ । तर, यसको असर देखिने गरि, साँच्चिकै दूरगामी हुनेछ ।

दोश्रो, विज्ञान-प्रविधि बुझेर नियमन र सहजकीरण गर्ने एउटै निकाय: अहिले स्वतस्फूर्त: सुरु भएका अधिकांश उत्कृष्ट अनुसन्धान संस्थाहरु नीजि तर गैरनाफामूखी छन् । यी संस्थालाई नियमन गर्ने तरिका भने अन्य गैरसरकारी संस्थाहरु अर्थात् ngo झैँ हुँदा थुप्रै व्यवहारिक कठिनाईहरु आएका छन् । जस्तै अन्तराष्टृय प्रतिस्पर्धामा विश्वका प्रतिष्ठित विश्वविद्दालयाहरुलाई उछिन्दै जितेको अनुदान रकमको अनुमति लिन महिनौँसम्म समाजकल्याणपरिषदलाई शोध-विषयको आधारभूत चुरो कुरो बुझाउन धाएको धायै गर्नुपर्ने, वा यहाँ नपाईने महंगो अन्वेषण सामग्री बाहिरबाट अनुदानमा आउँदा पनि भन्सारमा छुट नपाईने । अथवा तरकारी-फलफूलमा हुने विषादि नाप्ने निकै सस्तो तर भरपर्दो प्रविधिको अनुसन्धान गर्न आवश्यक अनुमतिहरुलिन फरक-फरक निकायहरु आफैँ धाउनुपर्ने अवस्था । अझैँ समाजकल्याण परिषद, नेपाल स्वास्थ अनुसन्धान परिषद जस्ता निकायहरुमा अव्यवहारिक चर्को शुल्क तिर्नुनपर्ने भइदिए त, हरेक संस्थालाई वार्षिक ४-५ जना उत्कृष्ट विद्दार्थीलाई विदेश जानै नपर्ने गरी उच्चस्तरको अनुसन्धानमा लगाउनका लागि चाहिने पैसाकै जोहो पो हुन्थ्यो त! विज्ञान-प्रविधिको क्षेत्रमा उच्चस्तरीय अनुसन्धान गरिरहेका संस्थाहरुलाई नियमन र सहजीकरण गर्न, यस्ता कामहरुको महत्व र जटिलता दुवै बुझ्ने छुट्टै सरकारी निकाय नभएसम्म वैज्ञानिकहरुले दु:ख पाउने छन् ।

तेश्रो, विज्ञान-प्रविधि अनुसन्धानकोष: अनुसन्धानका लागि अनुदान दिने सरकारी निकाय भए तापनि त्यसमा हाल मूलत: विश्वविद्दयालयमा आवद्ध प्राज्ञहरु मात्रै समेटिदा अनुसन्धानमा लिप्त र सक्षम वैज्ञानिकहरुले आवेदन नै हाल्न नपाउने स्थिति छ। तसर्थ: विज्ञान-प्रविधिमा अनुसन्धान गर्ने गैरसरकारी संस्थाहरुलाई समेट्नेगरी अुनसन्धानकोष बनाउनुपर्ने देखिन्छ । यस्तो कोषबाट गरिने थुप्रै काममध्ये, विदेशबाट फर्किएर उसले रोजेको संस्थामा काम गर्न खोज्ने उत्कृष्ट युवा वैज्ञानिकहरुलाई प्रतिस्पर्धात्मक आवेदन पश्चात ३ देखि ५ वर्षे आकर्षक सुविधाहरु दिने ।

अन्त्यमा, हावा-हुरी र कहिले काहि त भुइचालो नै आउने अवस्थामा पनि आ-आफ्ना साना प्रयासहरुबाट हामीले केही दियोहरु बालिरहेका छौँ । सबैको अभिवावकको भूमिका निर्वाह गर्ने सरकारले हावा-हुरीबाट बच्ने भुकम्परहित छहारीको व्यवस्था गर्न महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने आशा गरेको छु । कस्तो तेल हाली कसरी ती दियोहरु बाल्दा दिगो रुपमा घर नजल्नेगरी उज्यालोसंग बल्छ भन्ने कुरो तत्-तत् क्षेत्रका विज्ञहरुलाई नै थहा हुन्छ । तसर्थ छहारि बनाईदिदा फलाना-फलाना हामीले भनेका मान्छे मात्रै अगाडि आऊ भन्ने नभई स्वतन्त्र र स्वायत्त रहून्, अनि उत्कृष्टता एवं समताको नमूनासहित अगाडि बढून् भन्ने सुभेक्षा रहन्छ भन्ने आशा गर्दै, म मार्फत हामी युवा वैज्ञानिकहरुको आवाज सरकार लगायत आम-समुदायमा पुर्याउने अवसर प्रदान गरिदिनु भएकोमा नेपाल सरकारलाई विशेष धन्यवाद दिन्छु ।

धन्यवाद ।

-विशेष खनाल

प्रतिक्रिया दिनुहोस्