२०८२ असार १७
                           

पूर्व विद्यार्थी सांसद भएपछि सेतिदेवीले गर्यो सुबोधलाई सम्मान

२३ माघ, चौतारा – जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित माधव सापकोटा सुबोधलाई उहाँले अध्ययन गरेको विद्यालयले सम्मान गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ स्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय, प्राविधिक तथा व्यावसायिक शिक्षा वाली विज्ञान सञ्चालितले आफ्नो ४६ औं वार्षिकोत्सव, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोहका अवसरमा पूर्व विद्यार्थी सापकोटालाई सोमबार सम्मान गरेको हो ।

उहालाई कार्यक्रमका प्रमुख अतिथि निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । उहाँलाई प्रदान गरिएको सम्मान पत्रमा विद्यालयले आफ्नो पूर्व विद्यार्थीले पाएको सफलतालमा गर्व गरेको उल्लेख गर्दै सफलताको शुभकामना व्यक्त गरिएको छ । ‘आकाशको तारा झैं चञ्चल, सरिता झैं कञ्चन, छहरा झैं वेगवान र सागर झैं शान्त’ भन्दै सापकोटामा पलाएको समाज रुपान्तरण र परिवर्तनको सोचको प्रशंसा गरिएको छ ।

संघीय सांसद निर्वाचित भएपछि पहिलो पटक विद्यालयको औपचारिक कार्यक्रममा उपस्थित सुबोधले आफूले राजनीति विद्यालयबाटै सुरु गरेको स्मरण गराउनुभयो । उहाँले विद्यालयको चौतर्फी विकासका लागि पहल गरिरहेको जानकारी गराउँदै वरपरका सडक स्तरोन्नतिसँगै टाढा टाढाका विद्यार्थी समेत आउने विश्वास व्यक्त गर्नुभयो  । सम्बोधनका क्रममा उहाँले विद्यालयलाई कृषि कलेजका रुपमा स्थापना गर्ने काम प्राथमिकतामा रहेको जानकारी गराउनुभयो । पूर्व विद्यार्थीको सफलतामा विद्यालयका विद्यार्थीले गौरवका रुपमा लिएको बताउँनुभयो । सिन्धुपाल्चोकको कुविण्डे राजनीतिक रुपमा देशमै चर्चीत ऐतिहासिक क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्