२०८३ आश्विन २७

जुगल भ्रमण वर्ष २०८३ उद्घाटन, पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारको सहयोग रहने मन्त्री पौडेलको प्रतिबद्धता

जुगल भ्रमण वर्ष २०८३ उद्घाटन, पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारको सहयोग रहने मन्त्री पौडेलको प्रतिबद्धता

चनौटे/ सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति तथा पहिचानको संरक्षण र आर्थिक समृद्धिको लक्ष्यसहित आयोजना गरिएको ‘जुगल भ्रमण वर्ष २०८३’ को उद्घाटन गरिएको छ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा आज रत्नराज्य माध्यमिक विद्यालय, चनौटेको प्राङ्गणमा आयोजित समारोहमा भ्रमण वर्षको उद्घाटन गरिएको हो।जुगल भ्रमण वर्ष २०८३ उद्घाटन, पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारको सहयोग रहने मन्त्री पौडेलको प्रतिबद्धता

कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधि र स्थानीय नागरिकको उपस्थिति थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जुगल हिमालसहित क्षेत्रका पर्यटकीय गन्तव्यको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जुगलको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो।

पर्यटन विकासलाई स्थानीय नागरिकको रोजगारी र आयआर्जनसँग जोड्नुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले रैथाने सीप, श्रम र प्रविधिको प्रयोगमार्फत स्थानीयस्तरमै स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो। पर्यटन प्रवर्द्धनले स्थानीय उत्पादन, मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै नागरिकको जीवनस्तर सुधारमा योगदान पुर्‍याउन सक्ने उहाँको भनाइ थियो।

मन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै रत्नराज्य माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पहल तथा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

बाढीबाट प्रभावित बालबालिकाको शिक्षाप्रति प्रदेश सरकार संवेदनशील रहेको बताउँदै उहाँले विपद्बाट प्रभावित बालबालिकाको भविष्य सुरक्षित गर्न उनीहरूको शिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धतासमेत जनाउनुभयो।

भ्रमण वर्षअन्तर्गत जुगल गाउँपालिकाका सबै वडालाई समेटेर स्थानीय संस्कृति, कला, परम्परा र पहिचान झल्कने कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ। अभियानमार्फत जुगल हिमालसहित क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।

‘जुगल भ्रमण वर्ष २०८३’ लाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी स्थानीय पहिचानको संरक्षण, रोजगारी सिर्जना र आर्थिक गतिविधिको विस्तारसँग जोड्ने लक्ष्य गाउँपालिकाले राखेको छ। स्थानीय समुदायको सहभागितामा दिगो पर्यटन विकासको आधार निर्माण गर्नु पनि अभियानको उद्देश्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्