चौतारा/ सिन्धुपाल्चोक र काभ्रेको दोसाँधमा रहेको बन्देउटार,डुम्रेवेसी,बेल्डाँडा र दोलालघाट आ आफ्नो जिल्लामा पर्ने दावी गर्दै आएको सिन्धुपाल्चोक र काभ्रेका स्थानीयबिच झडपको स्थिति बनेपछि सिमा विवाद झनै पेचिलो बनेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-११ महादेवटारका स्थानीयले इन्द्रावती नदीको सिस्नेरी बगरबाट नदीजन्य पदार्थ बालुवा,ढुङ्गा उत्खनन गरि बिक्री गरेपछि विवाद सतहमा आएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले आ.व.०७९/०८० को लागि इन्द्रावती नदीको झ्याडी खोला देखि बन्देउ ५९ कि.मि. सम्मको बगरमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री निकासीको लागि बोलपत्र आह्वान गरि ठेक्का सम्झौता समेत गरिसकेको छ । विवादित सिस्नेरी बगर ५९ कि.मि. भित्रै पर्छ ।
मंगलबार साँझ काभ्रेको भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेल,उपाध्यक्ष दावा लामा,भुम्लु – ८ का वडा अध्यक्ष मोतिलाल तामाङ,दोलालघाटका स्थानीय सहितको ४०-५० जनाको टोली महादेवटार बस्ती पुगेको थियो । बस्ती पुगेको टोलीले स्थानीय महादेवटारबासीलाई खोलामा नझर्न,बालुवा,ढुङ्गा निकाल्ने बेच्ने काम बन्द गर्न र जबर्जस्ती काम गरे जस्तोसुकै घटना हुन सक्ने भन्दै स्थानीयवासीलाई धम्क्याएको महादेवटारका स्थानीयवासीको आरोप छ । स्थानीयका अनुसार दोलालघाट बजार आएको देखे भेटे मारेर खोलामा हाल्ने सम्मको धम्की गाउँपालिका उपाध्यक्ष दावा लामाले नै दिएका छन् । त्यसैले हामीले हिजो जिल्ला प्रशासन कार्यालय चौतारामा सिडियो सापलाई भेटेर जीवन रक्षाको माग गरेका छौं । कानुन पालना गर्नुपर्ने र कार्यान्वयन गर्ने निकाय र ब्यक्ति बाटै ज्यान मार्ने धम्की आउनु ज्यादै दुःखद् भएकोले सिडियो सापलाई निवेदन दिन पुगेका हौं । तर भुम्लु गाउँपालिका का अध्यक्ष प्रेम भुजेल महादेवटारबासीले लगाएको आरोप निराधार भएको र उल्टै स्थानीयले नै हामीलाई कुटपिट गर्न खोजेको बताए । उनले भने- “हामी स्थलगत अनुगमनका लागि मात्रै गएका हौं । तर स्थानीयले एक्कसी आक्रमण गर्न खोजे ।”
जिल्ला विवादको विषय समाधान भन्दा झनै पेचिलो बन्दै गएपछि दोसाँधमा रहेका स्थानीयवासीबिच पटक पटक झडप हुने स्थिति बनेको छ । गत बर्ष पनि यहि समयमा दुई जिल्लाका स्थानीयबिच विवाद भएको थियो । भुम्लु गाउँपालिकाले अरनिको लोकमार्गलाई नै असर गर्ने गरि सिस्नेरी बगरमा जाने नयाँ मोटरबाटो खनेपछि सिन्धुपाल्चोकका जनताले सडक आन्दोलन नै गरेका थिए ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालका अनुसार दुई जिल्लाको सिमा विवादकै कारण स्थानीयबासीमा मनमुटावको वातावरण बनेको छ । जिल्ला सिमा विवाद स्थानीय तवरबाट समाधान हुने विषय होईन । तर उत्पन्न विवाद समाधानका लागि जिल्ला स्तरमा पटकपटक छलफल गराएका छौं । पछिल्लोपटक पुन विवाद भएको कुरा आएको छ । यही पौष ११ गतेको लागि दुवै जिल्लाका प्रतिनिधि सहितको छलफल बोलाएका छौं ।
दुई जिल्ला बिचको सिमा विवाद यतिबेला नेपाल सरकारको उच्च तहमा समेत छलफलको विषय बनेको छ । भुमि ब्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पटकपटक छलफल भएको भएपनि कुनै प्रकारको निर्णय भने हुन सकेको छैन । यस्तै सिमा विवाद सम्बन्धि मुद्दा सर्बोच्च अदालतमा समेत विचाराधीन अवस्थामा रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रोशनराज गिरीले काभ्रे भुम्लु गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले आ.व.०७९/०८० को लागि नदीजन्य पदार्थ उत्खननको लागि आह्वान गरेको बोलपत्र ठेक्का तथा दोलालघाट बसपार्कमा रहेका टहरा हटाउने सम्बन्धि ३५ दिने सूचना विरुद्ध दिएको निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै सर्बोच्चले अन्तरकालिन आदेश जारी गरेको थियो । तर अदालतले तोकेको पेशी पटकपटक सरेको कारण निर्णयार्थ सुनुवाइ हुन भने सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्