२०८२ मंसिर १८

किन सेतु बिकहरु पटक पटक आक्रमणमा परिरहन्छन ?

नरेन्द्रजंग पिटर

नेपालगञ्ज, धम्बोझी चोकमा ०६३ पछि फेरि राखिन थालिएको राजा वीरेन्द्रको शालिक प्रहरीले हटाउँदा गोली चल्यो, प्रतिक्रियामा न्युरोडमा रहेको शहीद सेतु बिकको शालिक तोडफोड भयो । आखिर राजा वीरेन्द्र र शहीद सेतुबीचको सम्बन्ध के छ ? नेपालगञ्जमा राप्रपाले हा¥यो । क्रिया, प्रतिक्रिया र पक्षधरता सुरू भए । धम्बोझी र न्युरोड झण्डै दुईसय मिटरको दूरीमा छन् ।

जिउँदैमा कमैको शालिक बन्छ तर नेपालगञ्जमा राजा वीरेन्द्रको जीवनकालमै पूर्ण कदको मूर्ति धम्बोझीमा खडा थियो । हरेक पुष १४ पञ्चहरू जय गान गर्दथे । त्यस जयगानमा पञ्चायत जाँचबुझ समितिले एकजना दरबारिया बुद्धिजीवी पनि पठाउँथ्यो । ती प्रोफेसरहरू हुन्थे । बहुदलमा खाँटी कांग्रेस र कम्युनिष्ट बनेर नयाँ शासकका तावेदार बने । अझ ती ०६३ पछि गणतन्त्रका भाष्यकार पनि । नेपाली राजनीतिमा ०६३ को परिवर्तन सरकार मात्रै नभई सत्ता नै फेरिएको थियो । राजनीति र शक्तिबीचको सहमतिले गणतन्त्र त स्वीकारियो तर दल र शक्तिले गणतान्त्रिक संस्कृति जीवनपद्धति भने बनाएनन् । परिवर्तनको राप र चाप सेलाउँदै गएपछि प्रतिगमन सल्बलाउन थाल्यो, आन्दोलनकारी उनका मतियार वा चुनावी गठबन्धन गर्न थाले । गणतान्त्रिक चरित्र गुमाउँदै गए । प्रतिकहरू मार्फत मान्छे पक्षधरता जनाउँछन् ।

व्यक्तिका रूपमा लोकप्रिय, उदार राजा र शासकहरू इतिहासमा भएका छन् । तर, समाज परिवर्तनको क्रममा संस्थाको भूमिका के, कस्तो रहने गरेको छ भन्ने मुख्य कुरा हो । हरेक राजनीतिक परिवर्तन, एउटा राजवंशको अन्त र अर्को वंशको सुरुवात रक्तपातपूर्ण युद्ध वा कुलीन विद्रोहीबाट हुने गरेको छ । कुनै राजवंशले श्रीपेच अर्को वंशको टाउकोमा सहजै लगाइदिएर वा गद्दी अन्य वंशलाई आसिन गराएको विश्व इतिहास पाइदंैन । किरात, लिच्छवी, मल्ल, शाह र राणाहरूका उदय र अस्त गीता पढेर भएको थिएन । राजा वीरेन्द्रप्रतिको सद्भाव उनको वंश विनासको कारण चुलिएको हो ।

बीपीको फासी सजायको मागलाई अस्वीकार गर्नु, जनमत संग्रह, शान्तिक्षेत्र प्रस्ताव, असंलग्न परराष्ट्र नीति निरन्तरता, भूसंवेदनशील देशको मर्म, ०४६ को बहुदलको घोषणा, संविधानको परिधिमा बस्नु, जनयुद्ध टार्न वार्ता, संवादको पहल गर्नु र सेना परिचालन नगर्नु जस्ता महत्वपूर्ण राजनीतिक निर्णय थिए । अर्कातर्फ दरबारबाट सञ्चालित हत्यारा दस्ताको निरन्तरता, नेतालाई मुक्ति कार्यकर्तालाई २०३५ को माघ २६ गते राति भीमनारायण श्रेष्ठलाई सप्तकोसीको टप्पुमा र कप्तान यज्ञबहादुर थापालाई पनि कमला नदीको किनारमा गोली हानियो ।

२०३१ को असोजमा सेन्ट्रल र भद्रगोल जेलबाट झिकेर चारजना– लीलानाथ दाहाल, ठगी दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्कीलाई, २०२८ चैतमा योगेन्द्रमान शेरचन र २०२९ साउनमा दिवानसिंह राई, सरोजप्रसाद कोइरालालाई २०३० को कात्तिक २ गते भारतको मधुवनीमा गोली हानेर हत्याका मुख्य अरोपी पनि उनै हुन । जेल सार्ने बहानामा झापाली बन्दी (रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र बिरेन राजवंशी) हत्या, जेल सार्दा सूर्यनाथ यादव रानको हत्या, गिरफ्तारप्रति ऋषि देवकोटा, दुर्गा सुवेदी, दलबहादुर रजनको हत्या, दिलिप चौधरी, साकेतचन्द्र मिश्र, डा. लक्ष्मी नारायण झा, ईश्वर लामा, पदम लामाको हत्या, भारत रक्सौलमा गएर बैजनाथ प्रसाद गुप्ता र दिल्ली गएर शोभाकर धननञ्जयको हत्या, शिक्षक टंक भुषालको हत्याले उनको पिछा भने छोड्दैन ।

राजतन्त्र र पंचायत बचाउन गरिएका सन्धि, सम्झौता, बहुदल हराउन गरिएका अभ्यास र राजनीतिक कार्यकर्ताको हत्या शृंखला धेरै छन । धम्बोझी मुर्ति स्थापनामा भएका झडपमा इतिहासले फेरि उत्खनन खोज्छ ।

भावना, उत्तेजना, प्रतिगामी सोच मडारिरहेको बेला म यो लेख ग्राउन्ड जिरोमा बसेर चिया चुस्कीसँगै लेख्दैछु । मूर्ति तोडफोडको दिनदेखि नै लगातार नै चियापसल पुग्न थालेको मलाई चियाको तलतलभन्दा पनि घटना सिर्जनाका कारण, नियत, पक्षधरता र नयाँ द्वन्द्वको अवस्थाले दिने सन्देश अध्ययन गर्नु थियो । धम्बोझी र न्युरोडको मध्यबिन्दुमा यो चिया पसल पर्छ । तर, म बीच नभई पूर्व नै ढल्किएको छु । होटलका मालिकले २०६३ साल वैशाख ५ गतेको जुलुस, अश्रुग्यास, सेतु ढल्नुको बेलिविस्तार लगाए । अश्रुग्यास चलेको, जुलुशकी सेतु बिक रन्थनिँदै घरबारी टोलमा ढलेको उनले देखेका छन् । त्यस दिन जनयुद्ध र जनआन्दोलनको नेपालगञ्जको उत्कर्ष दिन थियो । सात दलको आन्दोलनको आर्क धम्बोझी थियो भने माओवादीको न्युरोड । ग्रामीण वस्तीबाट माओवादीको उल्लेख्य सहभागिता थियो । खजुरा भेगबाट सशक्त सङ्घर्ष समितिको अव्हानमा आएका सहभागीमा नेपालगञ्जमा प्रदर्शनकारी बनेर पुगेकी थिइन, सेतु । सो दिन ५७ जना घाइते भएको इन्सेकका भोला महत बताउँछन ।

सो दिनको सम्झना गर्दै अहिले एबीसीका लुम्बिनी ब्यूरो चिफ शरण कर्माचार्य भन्छन, माओवादी छापामार पनि उक्त जुलुसमा रहेछन् । उनले प्रहरीलाई प्रहार गर्न सोझ्याएको पेस्तोल मैले र झलक गैह्रैले, हाल नेपालगन्ज दैनिकका सम्पादकले रोक्यौँ । घाइते सेतुलाई भेरी अस्पतालले रिफर गरेपछि नेपाली कांग्रेस खजुराका नेता दिवंगत कमल रेग्मीसहित तीन जनाले लखनउ लाने क्रममा बहराइचमा (भारत) मृत्यु भयो । शव ल्याउने वित्तिकै आफ्नो अगुवाइमा कोष निर्माण भएको र दाहसंस्कारका बेला तीन लाख संकलन र पछि छ लाख कोषमा जम्मा गरिएर सेतुका श्रीमानलाई बुझाइएको, छोरालाई एसओएस सुर्खेत पढ्ने व्यवस्थापन गरिएको कर्माचार्य बताउँछन ।

सेतु बिक चोकमा राजा ज्ञानेन्द्रको शालिक राख्ने स्ट्रक्चर बने पनि शालिक भने राखिएको थिएन (केही मिडियाले राजा ज्ञानेन्द्रको शालिक तोडेको भनेका छन्, गलत हो) पारस शाहको कारकाँदो चोकमा राख्ने राजावादीहरूको निर्णय रहेछ । राजा वीरेन्द्रको शालिक ०६३ वैशाख ५ मा तोडियो । त्यो कुनै पार्टीको निर्देशन र नियन्त्रणमा नभएको स्वतःस्फूर्त विद्रोही भिडले गरेको थियो । यो भिडले नै भेरी अञ्चल अस्पतालको महेन्द्र र रत्नाको शालिक तोड्ने जमर्को ग¥यो, ढलोटको भएकाले सकेन तर त्रिभुवनचोक र धम्बोझी चोकको त्रिभुवन र वीरेन्द्रको भने तोड्यो । तत्कालीन सीडीओ विनोद अधिकारीले आन्दोलनकारी, माओवादी, सरकारी साेंच र आदेश बेगरको प्रहरी उदण्डताबारे विस्तृत चर्चा गरेका थिए ।

हाम्रो भेरी कर्णालीको क्षेत्रीय कार्यालय बर्दियाको मैनापोखर र मोतिपुर गाँउमा थियो । पलपलको रिपोर्टिङ भइरहन्थ्यो । कसरी खजुराको सयुक्त संघर्ष समितले काम गरिरहेको छ, सात दलसँग कसरी सहकार्य हुँदैछ भन्ने कुरा निरन्तर सूचना आइरहन्थे । आरएचक्युको तर्फबाट राजनीतिक पार्टी, बौद्धिक व्यक्तित्व र मिडियासँग निरन्तर सम्पर्क हुन्थे । जनयुद्ध र जनआन्दोलनको उच्चस्तरीय फ्युजन बाँके, बर्दियामा भएको थियो भने अर्वान मुभमेन्टको पनि अग्रपंक्तिमै थियो यो क्षेत्र ।

हरेक क्रान्तिकारी भेल छोप्ने समाजमा एउटा तप्का हुन्छ । राजनीतिक नेतृत्व नहुँदा पनि त्यो भीड सक्रिय हुन्छ । कालान्तरमा जश लिने र इतिहास व्यवस्थापन गर्ने शक्तिमा देखिन्छन । ०४७ सालमा फत्ते सिंह थारूलाई पनि कालोमोसो लगाएर शहर घुमाउने नेपालगञ्जमा यस्तै भिड थियो ।

शालिक दुई प्रकारका हुन्छन । पहिलो शक्तिशाली शासकहरूको, दोश्रो आस्थाका नायक, नायिकाको । समयसँगै परिभाषाहरू फेरिँदै जान्छन । इतिहासको व्यवस्थापन हुँदै जान्छ । शालिकको रक्षा सिद्धान्त, आचरण भएका अनुयायीले मात्रै गर्न सक्छन् । प्रतिकहरू मार्फत मान्छे पक्षधरता जनाउँछन् । इतिहाससँग वदला लिनु पश्चगमन हो । पक्कै पनि समय खराब भए शक्तिशाली शिकारी पनि स्वयम् शिकार बन्न सक्छ । प्रतिकसँगको व्यवहार इतिहाससँग गरिने व्यवहार हो । इतिहास अग्रगामी मात्रै हुँदैन, पश्चगमनको यात्रा पनि गर्छ । इतिहासले शिक्षा लिन भन्छ, बदला लिन कहिल्यै उकास्दैन ।
शालिक तत्कालीन इतिहास हो । अमेरिकामा रङ्गभेदका शिकार जार्ज फ्लायडको मृत्युपछि भएको विरोध प्रदर्शनमा क्रिस्टोफर कोलम्बसको मूर्ति उखेलिएर फ्याँकियो । रानी भिक्टोरियाको मूर्ति तोडफोड भयो । सत्रौँ शताब्दीको कुख्यात दास व्यापारी एडवर्ड कोल्स्टनको मूर्ति ब्रिस्टल हारवरमा फ्याँकियो ।

शालिक इतिहासका बकपत्र हुन । तर, केही मान्छे सालिकसँग घृणा गर्छन, केही आतङ्कित हुन्छन, केही शालिकको सौन्दर्यकरण गरेर आफ्ना सोंच, मूल्य, आदर्शको निरन्तरता दिन्छन् । शालिकसँग आतङ्कित अमेरिकी सत्ताले घृणा जाहेर गर्ने सद्दाम हुसेनको ९ अप्रिल २००३ मा शालिक भक्षण गर्न इराकी जनतालाई उकास्यो ।

त्यसमध्येको खदीम शरीफ अल–जहवारी अफ्नो कृत्यमा अहिले पछुतो मान्छ । भारतको त्रिपुरामा कम्युनिष्टको पराजयपछि भारतीय जनता पार्टी लेनिनको मूर्ति तोडफोड ग¥यो । हिन्दु तालिवानहरूले नाथुराम गोडसेलाई नायक मान्छन् । उनीहरूले कन्नूर थालिपरंबामा महात्मा गान्धी मूर्तिको चश्मा फोरिदिए । दलित विरोधी सवर्णहरूले चेन्नईको तिरुवोत्तियोरमा भारतीय संविधान निर्माता डाक्टर भीमराव अम्बेडकरको मूर्तिमा कालोमोसो दले । युपीको मेरठ र मावना गाँउमा पनि त्यस्तै भयो । वर्णवादी व्यवस्थाको वैचारिक विरोधमात्रै हैन सशक्त प्रतिरोध अन्दोलनका नायक इबिअर रामास्मीको मुर्तिलाई अक्रमण भयो ।

उग्र जातिवादीहरूले लेनिन, पेरियार र अम्बेडकरका मूर्तिमाथि आक्रमण थिए नै स्वयं कोलकातामा वर्णवादी भारतीय जनसङ्घका संस्थापक श्यामा प्रसाद मुखर्जीको मूर्ति पनि प्रतिक्रियाबाट सुरक्षित हुन सकेन ।

वर्गीय घृणा कति उग्र हुनसक्दो रहेछ भनेर नियाल्ने हो भने लण्डनको हाइगेट समाधि स्थलमा रहेको कार्ल माक्र्सको मूर्ति पनि सन २०१९ मा तोडफोड भयो । कम्युनिज्मफोविया ग्रसितहरूले भित्तामा लेखेः ‘घृणाको सिद्धान्त’ र ‘नरसंहारको वास्तुकला’ । जथाभावी रातो रङ पोतियो । अगाडिको भाग तोडफोड गरियो । समाधिस्थल ट्रस्टका मुख्य कार्यकारी अधिकारी इयान डुंगवेलले भने, ‘फेरि यस्तो कहिल्यै हुने छैन, भविस्यमा यस्तो कहिल्यै हुने छैन र भविस्यका लागि ती लडाइँ सहन गर्नेछ ।’ माक्र्सको चिहानमा अहिले सीसीटीभी क्यामरा जोडिएको छ । सन् २०१३ मा युक्रेनको राजधानी कियभमा पनि लेनिनको शालिक डोजर लगाएर भत्काइएको थियो ।

र, अन्तमा

मूर्ति त इतिहासका साक्षी हुने गर्छन । मुख्य कुरा शालिक भन्जकहरूको आक्रोशले दिने सन्देश के हो ?

राजा वीरेन्द्रको मूर्ति ०६३ पछि फेरि स्थापना गर्न खोजिएको धम्बोझी चैकबाट पुष्पलाल र बीपीको शालिक र सेतु बिकको सालिक समान दूरीमा छन् । उग्र राजावादी एक कविले दुवै मूर्ति सुरक्षित हुन सक्लान ? भन्ने आसय सामाजिक सञ्जालमा लेखे । त्यसका प्रतिक्रियाहरुमा पश्चगमनको उग्रधार देखापर्छ । सेतु बिकप्रति नै प्रतिक्रिया केन्द्रित हुनुमा कारण के थियो त ? मिडियाले विषयलाई हल्का रूपमा लियो र पक्षधरता जनायो ।

१) सेतु बिक गणतन्त्रको प्रतिक र राजतन्त्र अन्त आन्दोलनको सहभागी थिइन ।
२) ज्ञानेन्द्र शाहको मूर्ति स्थापना गर्ने संरचनामै उनको शालिक ठडिएको थियो ।
३) उनी गरीव, महिला र दलित थिइन ।
४) सत्ता परिवर्तन स्वीकार्न नसक्ने अभिजातहरू आफ्ना आक्रोस सेतु बिकमार्फत गणतन्त्रवादीलाई दिन चाहन्थे ।
५) इतिहाससँग वर्तमान लिन खोजेको बदला हो ।
६) गणतन्त्रवादीहरूको राजनीतिक आचरण सुधारेर संविधान रक्षा गर्न नचाहने ‘नयाँ राजाहरू’ तिम्रो भविष्य सुरक्षित छैन भन्ने उग्र प्रतिक्रिया पनि हो ।

आखिर मरेका मान्छेले उनका मूर्तिको अवस्था के छ ? भन्ने थाहा पाउने छैनन् । तर, मूर्ति त इतिहासका साक्षी हुने गर्छन । शालिक भन्जकहरूको आक्रोशले दिने सन्देशले द्वन्द्वमा नयाँ रूप र प्रतिगमनको अभ्यास हो भन्ने समयमै बुझ्न आवश्यक छ, चुरो कुरो यही हो ।

प्रतिक्रिया दिनुहोस्