२०८२ भाद्र १२

आफ्नालाई राहत, विपन्नमाथि पक्षपात

खाडीचौर- कोरोना भाइरसले आक्रान्त भएको बेलामा पनि विपन्न र दैनिक ज्यालादारीमा बाँच्नुपर्ने सर्वसाधारणमाथि राजनीतिक प्रतिशोधले पक्षपातपूर्ण व्यवहार गरिएको छ । सुनकोसी गाउँपालिकामा विपन्न र दैनिक ज्यालादारी गरेर खानुपर्ने अवस्थाका सर्वसाधारणलाई राहत नदिई आफ्नालाई वितरण गरिएको हो ।
नेकपा सुनकोसीका अध्यक्ष तथा समाजसेवी प्रेमलाल लामाले दिएको जानकारीअनुसार गाउँपालिकामा अहिले स्वास्थ्य शाखा कामबिहीन बनेको छ । जनताको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप नेकपाले लगाएको छ । भाइरसले सताएको बेला जनतालाई शान्त्वना दिनुपर्ने बेलामा स्वास्थ्य शाखाले कामै नगरेर जनस्वास्थ्यमाथि खेलवाड गरेको आरोप सुनकोसीवासीको पनि छ । राज्यको नीति निर्देशन नमानेर आफूखुसी काम गरेको आरोप जनप्रतिनिधिलाई नेकपाले लगाएको छ ।
ठोकर्पामा रहेको स्वास्थ्य चौकीले सामान्य बिरामीलाई पनि औषधि दिँदा दूव्र्यवहार गर्ने गरेको छ । सामान्य ज्वरो आएका र अन्य बिरामीलाई पनि स्वास्थ्य चौकीमा उपचार गरिन्न । गाउँपालिकाको स्वास्थ्य शाखाले वास्ता नगरेपछि गाउँपालिकामा रहेका अन्य स्वास्थ्य संस्थाहरुमा पनि उपचार सेवा फितलो छ । कोरोना भाइरसबाट सुरक्षित रहने कुनै उपाय गाउँपालिकाले तयार गरेको छैन ।
राहत वितरणको नाममा व्यापक भ्रष्टाचार भएको, स्वास्थ्य शाखासमेत धेरैजसो समय बन्द रहेको र गुण्डागर्दी शैलीमा आफ्नालाई छानेर राहत वितरण गरिएको आरोप अध्यक्ष लामाले लगाएका छन् । महामारीको जटील अवस्थामा पनि भ्रष्टाचार र राजनीतिक पूर्वाग्रह साँचेर काम गर्नु अत्यन्त निन्दनीय कार्य भएको उनले आरोप लगाए ।
गाउँपालिका कोषबाट स्वास्थ्य सामग्री खरिद गर्ने तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले किनेर दिएको भन्ने अनियमितता गरेर गाउँपालिकाले सुनकोसीको जनतालाई ढाँटेको नेकपाले आरोप लगाएको छ । पिपिईलगायत स्वास्थ्य सामग्री गाउँपालिकाले खरिद गरेको हो । तर, नेता बस्नेतले वितरण गरेको कार्यक्रमहरुमा गाउँपालिकाले नभनी कांग्रेस केन्द्रीय सदस्य बस्नेतले खरिद गरेर ल्याएको भनेर प्रचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्