चौतारा- मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरना भाइरस (कोभिड– १९) का कारण उत्पन्न महामारी तथा असहज परिस्थितिमामा सहकारीबाट कर्जा सापटी लिएका ऋणीहरुलाई २० प्रतिशत सहुलियत दिने घोषणा गरेको छ ।
सहकारीले कर्जा सापटी लिई नियमित कारोबार सहित सामन्य ब्याज दरमा लगानी गरिएका ऋणमा तिर्नु पर्ने पछिल्लो तीन महिनाको ब्याजमा २० प्रतिशतले छुट दिने जनाएको हो । छुट सुविधा २०७६ असार मसान्तसम्म भुक्तानी हुने साँवा ब्याजमा मात्र सीमित हुने तथा चैत्र महिनादेखि असार मसान्तसम्म तिर्न बुझाउनु पर्ने ब्याजमा वा ऋणको भाखा नाघेको अवस्थामा थप जरिवाना र हर्जना नलिई मिनाह गरिने सहकारीका अध्यक्ष बालकृष्ण लामिछानेले बताए ।
त्यस्तै सहकारीले कर्जा सापटी लिई अन्तिम भाखा नाघेका तथा कालो सूचीमा सूचिकृत गर्ने तयारी गरिएका ऋणी सदस्यहरुले आफ्नो ऋणको साँवा ब्याज भूक्तानी गरी जेष्ठ मसान्तसम्म कर्जा चुक्ता गरेमा चैत्र र बैशाख महिनाको पूरै ब्याज मिनाह गर्ने समेत जनाएको छ ।
कोरोना महामारीकोबीच सहकारीबाट गरिने आर्थिक कारेबारका कारण कुनै पनि सदस्यलाई समस्या नपरोस भन्ने हेतुले बिहान १० बजेदेखि १२ बजेसम्म नियमित कार्यालय सञ्चालन भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए । उनले सो समयमा कर्मचारी र सदस्यहरुको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिई साबुन पानीले हात सफा गरी वा सेनिटाइजरको प्रयोग गरी सुरक्षित रुपमा कार्यालय सञ्चालन गरिने बताए ।
चौतारा साँगाचोकगढी नगरपालिका– ७ स्थित सानोसिरुवारीबाट सञ्चालन हुँदै आएको यस सहकारीमा ५ सय भन्दा बढी शेयर सदस्यहरु रहेका छन् भने ६ करोड भन्दा बढी पुँजि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्