२०८३ मंसिर ९

सिन्धुपाल्चोकमा १२औँ उद्योग दिवस सम्पन्न, उद्यमी जीवन लामासहित तीन जना सम्मानित

चौतारा/ सिन्धुपाल्चोकमा १२औँ उद्योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा उत्कृष्ट उद्यमी, कर्मचारी र सेवाग्राहीलाई सम्मान गरिएको छ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडाध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चौताराका उद्यमी चन्द्रलाल श्रेष्ठलाई उत्कृष्ट उद्यमीका रूपमा सम्मान गरिएको थियो। त्यस्तै, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयमा कार्यरत हरि विश्वकर्मालाई उत्कृष्ट कर्मचारी र बाह्रबिसे नगरपालिका–४ का उद्यमी तथा त्यस दिनका पहिलो सेवाग्राही जीवन लामालाई विशेष सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले स्थानीय अर्थतन्त्र बलियो बनाउन साना तथा घरेलु उद्योगको प्रवर्द्धन आवश्यक रहेको बताए। उद्यमीलाई प्रोत्साहन गर्न र औद्योगिक वातावरण सुधार गर्न स्थानीय सरकार सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।

सो अवसरमा कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयको परिचय, वर्तमान अवस्था, वित्तीय प्रगति, राजस्व संकलन तथा सुशासनका प्रयास समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए।

जिल्लामा ६ हजार ५०५ उद्योग तथा वाणिज्य फर्म

कार्यालयले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८३/०८४ को हालसम्म जिल्लामा उद्योग तथा वाणिज्यतर्फ गरी कुल ६ हजार ५०५ फर्म दर्ता कायम छन्। तीमध्ये उद्योगतर्फ ३ हजार ६२० र वाणिज्यतर्फ २ हजार ८८५ फर्म रहेका छन्।

चालु आर्थिक वर्षको हालसम्म उद्योगतर्फ २७ र वाणिज्यतर्फ १६ गरी ४३ नयाँ फर्म दर्ता भएका छन्। यसै अवधिमा उद्योगतर्फ २५ र वाणिज्यतर्फ १८ गरी ४३ फर्म खारेज भएका छन्।

६७ लाखभन्दा बढी राजस्व संकलन

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म विभिन्न शीर्षकबाट ६७ लाख २७ हजार ७२५ रुपैयाँ राजस्व संकलन भएको छ।

संकलित राजस्वमध्ये व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट ६४ लाख ४९ हजार १२५ रुपैयाँ प्राप्त भएको छ। त्यस्तै, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट २ लाख ५५ हजार रुपैयाँ, सरकारी सम्पत्तिको बिक्रीबाट १५ हजार रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबाट ५ हजार ६०० रुपैयाँ संकलन भएको विवरणमा उल्लेख छ।

वित्तीय प्रगतितर्फ कार्यालयको पुँजीगत खर्च शतप्रतिशत रहेको र चालु खर्चको अवस्था पनि सन्तोषजनक रहेको कार्यालयले जनाएको छ।

सेवा प्रवाहमा सुधारका प्रयास

कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि फाराम, ई–हाजिरी, कार्यालयको वेबसाइट, नियमित स्वतः प्रकाशन तथा एकीकृत सेवा प्रवाह कक्षमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

वि.सं. २०३१ को गठन आदेशअनुसार घरेलु तथा ग्रामीण उद्योग विकास समितिका रूपमा स्थापना भएको यो कार्यालय विभिन्न चरण पार गर्दै हाल बागमती प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्