२०८३ मंसिर ५

‘पत्रकारितामा एआईको उपयोग’ विषयक तीनदिने कार्यशाला सम्पन्न

ललितपुर/ कृत्रिम बौद्धिकता (एआई) को द्रुत विकाससँगै बदलिँदो सञ्चार परिदृश्यमा पत्रकारहरूलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने उद्देश्यले ललितपुरमा आयोजित तीनदिने कार्यशाला शुक्रबार सम्पन्न भएको छ।

सञ्चार रजिस्ट्रार कार्यालय, बागमती प्रदेशको आयोजनामा जावलाखेलमा सञ्चालित ‘पत्रकारितामा एआईको उपयोग’ विषयक कार्यशालामा प्रदेशका २५ भन्दा बढी क्रियाशील सञ्चारकर्मी सहभागी थिए।

समाचार कक्षलाई छिटो, तथ्यपरक र विश्वसनीय बनाउन आवश्यक व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले आधुनिक प्रविधिको उच्चतम प्रयोगसँगै पत्रकारिताको आधारभूत गुणस्तर र विश्वसनीयता कायम राख्नु आजको मुख्य चुनौती र आवश्यकता रहेको बताउनुभयो।

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले प्रविधिलाई पत्रकारको विकल्पका रूपमा नभई सहयोगी औजारका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।rewati sapkota

“एआईले पत्रकारलाई चलाउने होइन, बरु पत्रकारले एआईलाई आफ्नो विवेकले चलाउन सक्नुपर्छ,” उहाँले भन्नुभयो, “प्रविधिको सदुपयोगसँगै यसको दुरुपयोगबाट निम्तिन सक्ने जोखिम र भ्रामक सूचनाप्रति सञ्चारकर्मीहरू सधैँ सचेत रहनुपर्छ।”

तीनदिने कार्यशालामा गोरखापत्र दैनिकका सहसम्पादक अजय शर्मा र ‘अडियो भिजुअल इन्डलेस सोलुसन’का अध्यक्ष एवं वरिष्ठ दृश्य सम्पादक शिव पुरीले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँहरूले एआईको व्यावहारिक प्रयोग, सामग्री निर्माण र नीतिगत आचारसंहिताका विविध पक्षमा प्रशिक्षण दिनुभएको थियो।

कार्यशालाको पहिलो दिन एआई प्रविधि र वर्तमान डिजिटल उपकरणहरूको परिचयसँगै एआईबाट सही र सटीक नतिजा प्राप्त गर्न प्रभावकारी ‘प्रम्प्ट’ लेख्ने सीपबारे प्रशिक्षण दिइएको थियो।

दोस्रो दिन प्रम्प्टको सहायताले तथ्यमा आधारित समाचार लेखन, बुलेटिन तयारी र रिपोर्टिङमा प्रविधिको प्रयोगबारे सिकाइएको थियो। सोही दिन भ्वाइसओभर, अडियो प्रशोधन, सङ्गीत तथा प्रोमो निर्माणका साथै तथ्य जाँच र ‘डिपफेक’ पहिचान गर्ने व्यावहारिक अभ्याससमेत गराइएको थियो।

तेस्रो तथा अन्तिम दिन दृश्य सामग्री निर्माणका लागि क्यामेरा सञ्चालन, फ्रेम, रिजोल्युसन र ध्वनि समायोजनबारे प्रशिक्षण दिइएको थियो। साथै, एआई उपकरणको प्रयोग गरी तस्बिर तथा भिडियो सम्पादन गर्ने र एआईबाट निर्मित दृश्य सामग्रीको प्रमाणीकरण गर्ने सीपबारे अभ्यास गराइएको थियो।

कार्यशालाले सहभागी पत्रकारहरूलाई एआईको आधारभूत ज्ञानदेखि व्यावसायिक सामग्री उत्पादन र तथ्य जाँचसम्मका विभिन्न पक्षमा व्यावहारिक सीप प्रदान गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्