२०८३ आश्विन ३०

प्रकाशनमाथि उजुरी हाल्न खगेन्द्र सुनारलाई किशोर श्रेष्ठको चुनौती

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सांसद खगेन्द्र सुनारलाई जनआस्था प्रकाशनमाथि उजुरी हाल्न चुनौती दिएका छन् ।

सांसद सुनारले बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूविरुद्ध षड्यन्त्र भएको दाबी गरेपछि सम्पादक श्रेष्ठले यस्तो चुनौती दिएका हुन् । जनआस्थाले गलत समाचार प्रकाशन गरेको भए प्रेस काउन्सिल, प्रहरी, अदालत वा सम्बन्धित निकायमा उजुरी दिन सक्ने श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत अडियो प्रकरणबारे आफूहरूले उठाएका प्रश्नको जवाफ नदिई सुनारले १८ घण्टापछि खेतमा उभिएर भिडियो रेकर्ड गर्दै उक्त अडियो एआईबाट उत्पादन गरिएको दाबी गरेको उल्लेख गरेका छन् । तर, त्यसपछि सुनारले २८८ शब्दको फेसबुक स्टाटसमार्फत आफ्नो उक्त दाबी परित्याग गरेको श्रेष्ठको आरोप छ ।

जनआस्थाले प्रकाशित गरेको सामग्रीबारे आफूले लगाएको आरोप प्रमाणित गर्न सुनारलाई चुनौती दिँदै श्रेष्ठले त्यसो गर्न नसके जिम्मेवार सञ्चारमाध्यममाथि झूटो आरोप लगाएको तथा महिला र बालकमाथि हिंसात्मक अभिव्यक्ति दिएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

श्रेष्ठले जनआस्थाले आज प्रकाशित अर्को समाचारमार्फत सरकारलाई घटनासम्बन्धी सम्पूर्ण प्रमाण उपलब्ध गराउन तयार रहेको जानकारी दिएको पनि उल्लेख गरेका छन् । उनले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग आग्रह गर्दै कुनै एक पक्षलाई जोगाउने नाममा अर्को पक्षमाथि अन्याय गर्न नहुने बताएका छन् ।

उनले एक दलित जनप्रतिनिधिलाई जोगाउने नाममा अर्की दलित महिला र बालकमाथि अन्याय गर्न नमिल्ने उल्लेख गर्दै घटनामा संलग्न सबैको बोली र व्यवहारलाई समाजले नियालिरहेको टिप्पणी गरेका छन् ।

संसार न्यूजबाट

प्रतिक्रिया दिनुहोस्