चौतारा/ मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाउने प्रवृत्तिले समस्या झन् बढ्न सक्ने भन्दै सरोकारवालाले समयमै पहिचान, उपचार र आफन्तको सहयोग आवश्यक रहेको बताएका छन्।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने नारासहित चौतारा बहुमुखी क्याम्पसमा प्रजनन स्वास्थ्य रुग्णता, रजोनिवृत्ति तथा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी : एक घण्टा मेरो लागि’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा तथा मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चौताराको समन्वय र सहकार्यमा आयोजित कार्यक्रममा प्रजनन उमेरका महिला तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले मानसिक रूपमा स्वस्थ रहन खानपान र व्यवहारमा ध्यान दिन आग्रह गर्नुभयो।
बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक दीपकप्रसाद तिवारीले स्वास्थ्यका विषयमा सहकारी संस्थाले पनि ध्यान दिँदै आफ्ना सदस्यलाई स्वस्थ राख्न भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। विपद्का समयमा मानसिक स्वास्थ्यमा अझ बढी ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले यसमा सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई नकारात्मक दृष्टिले हेर्ने र लुकाउने प्रवृत्तिले समस्या थप जटिल बन्न सक्ने उहाँको भनाइ थियो। यस्तो समस्या जोसुकैलाई हुन सक्ने भएकाले समयमै ध्यान दिनुपर्ने बताउँदै उहाँले औषधिसँगै आफन्त र साथीभाइको साथ तथा सहयोग पनि आवश्यक रहेको उल्लेख गर्नुभयो।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईले महिनावारी, सरसफाइलगायत स्वास्थ्यसम्बन्धी विषयमा सहभागीलाई जानकारी गराउनुभयो। उहाँले स्वास्थ्यसम्बन्धी समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा गएर परामर्श तथा सेवा लिन आग्रह गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्