२०८१ चैत्र ११
                           

फुटबलको नेपाली महिला टोलीले जगाएको आशा

राजन विक्रम प्रजापति- विश्वको सर्वाधिक लोकप्रिय खेल फुटबल नेपालको पनि लोकप्रिय खेल रहदै आएको छ । तथापि विगत केहि समय देखि घरेलु फुटबल लिग हुननसक्नु, राष्ट्रिय खेलाडीहरु विदेश पलायन हुनु, अन्तराष्ट्रिय प्रतियोगिताहरु सिमित मात्रामा हुनु र भएका प्रतियोगिताहरुमा पनि अपेक्षित प्रतिफल नआउदा नेपाली फुटबल समर्थकहरु निराश देखिन्थे । अर्कोतिर एनपिएल लगायत घरेलु क्रिकेट लिग र केहि समययता क्रिकेट खेलले एकपछि अर्को सुखद नतिजा दिंदै निरन्तर नेपाली खेल दर्शकको मन जित्दै आएको परिप्रेक्ष्यमा अबको केहि समय पश्चात नेपालको सर्वाधिक लोकप्रिय खेल  क्रिकेट बन्न पुग्नेछ भनी चर्चा हुंदै आएको छ । तथापि गत अक्टोबरमा काठमाण्डौमा सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको नेपाल भारत बीच भएको सेमिफाईनल खेल र नेपाल बंगलादेशबीच भएको फाईनल खेलमा देखिएको समर्थकहरुको विशाल उपस्थिति र समर्थनबाट नेपालीहरुमा  नेपाली फुटबल खेलप्रतिको क्रेज अझै उस्तै रहेको देखाउदंछ । यसै गरी अहिले दशरथ रगंशालामा चलिहरहेको नेपाल, म्यानमार, लेवनान र किर्गिस्थान सम्मिलित अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा पनि घरेलु टोलीलाई अपार समर्थन मिलिरहेको देखिन्छ । यस प्रतियोगतामा पनि नेपाली महिला टोली फाईनलमा प्रवेश गरिसकेको छ र शिवरात्रिको दिन हुन गईरहेको नेपाल र म्यानमार बीचको फाईनल खेल जित्नेछ भन्नेमा सारा नेपाली फुटबल समर्थकहरुले अपेक्षा गरेका छन् ।

नेपाली महिला फुटबल खेलाडीहरुको उत्कृष्ट प्रदर्शनका बावजुद हालसम्म पनि उपाधि भने चुम्न सकेका छैनन । यो प्रतियोगितामा समेत गरी १३ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगे पनि नेपाल उपाधिविहीन छ । साफ महिला च्याम्पियनसिपमा मात्रै नेपालले छ वटा फाइनल खेलिसकेको छ, जहाँ भारतसँग चार पटक पराजित भएको थियो भने बंगलादेशसँग लगातार  दोस्रो हार बेहोरेको थियो ।

गत वर्ष साउदी अरेबियाको जेद्दाहमा भएको वाफ  महिला च्याम्पियनसिप फुटबलमा नेपालको प्रदर्शनले सबैको मन जित्न सफल भएको थियो । फाइनलमा नेपालले आफूभन्दा बलियो जोर्डनलाई कडा चुनौती दिदै टाइब्रेकरमा पराजित भएपछि उपाधिविना नै फर्किए पनि नेपाली टोलीको सर्वत्र प्रशंसा भएको थियो । सो च्याम्पियनसिपमा गरिएको प्रदर्शनले विदेशीहरुको नजरमा नेपाली टोली र फुटबल खेलाडीहरूका परेका थिए । विदेशी मिडियाले पनि प्रतियोगिताभर नेपाली टोलीको प्रदर्शनलाई लिएर खुलेर प्रशंसा गरेका थिए ।  नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गरेको थियो भने लिग चरणमा नेपालले प्यालेस्टाइन, सिरिया र इराकलाई सहजै हराई उत्कृष्ट प्रदर्शन गरेको थियो ।

यसै वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिप २०२४ मा बंगलादेशसँग हार बेहोरेर आयोजक राष्ट्र फेरि उपविजेता बनेपछि नेपाली महिला फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधिको खडेरी कायमै रह्यो । दशरथ रंगशालामा खचाखच भरिएको नेपाली समर्थकसामु आफ्नो उपाधि रक्षा गर्दै बंगलादेशले नेपाललाई २–१ ले हराएको थियो ।  प्रतियोगिताको अघिल्लो  संस्करण २०२२ मा पनि बंगलादेशले नै नेपाली टोलीलाई  ३-१ ले फाईनलमा हराई आफ्नो पहिलो साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो।

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको ठूलो सम्भावना देखिएको छ । नेपाली महिला खेलाडीले विदेशमा व्यावसायिक फुटबल खेल्न थालेका छन । सावित्रा भण्डारी अहिले फ्रान्सको शीर्ष डिभिजन महिला लिगमा खेलिरहेकी छिन्  भने कप्तान एन्जेला सुब्बा ग्रीसमा साथै रेखा पौडेल  युएइमा र अन्य कतिपय खेलाडी भारतको शीर्ष डिभिजनका क्लबमा अनुबन्धित छन् । नेपाली महिला खेलाडीले राम्रो खेल्ने हो भने अन्य विदेशी व्यावसायिक लिगमा पनि अवसरहरू खुल्नेछन् । नेपाली महिला फुटबल टोलीले सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेपनि त्यसको विकासका लागि कुनै ठोस योजना र कार्यक्रम हालसम्म पनि शुरु हुन नसक्नु दुखद कुरा हो । विभिन्न समस्याका बावजूद पनि नेपाली महिला फुटबलले अन्तराष्ट्रिय प्रतियोगितामा सन्तोषजनक प्रदर्शन गरिरहेको मान्न सकिन्छ ।

देशमा नियमित महिला फुटबल प्रतियोगिता हुन सकेको छैन र फुटबलको सर्वोच्च निकायले पनि  यसमा पर्याप्त ध्यान दिन सकेको छैन । नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दा बधाईको चहलपहल हुन्छ, तर महिला फुटबलको विकासमा चासो दिइँदैन । महिला फुटबलको विकासका लागि शृंखलाबद्ध प्रतियोगिता आयोजना गर्ने, घरेलु लिग संचालन गर्ने , अन्तर्राष्ट्रिय सहभागिता बढाउने  र अन्य  आवश्यक कार्यक्रमहरु नियमित संचालन गर्नुपर्ने देखिन्छ । खेलाडीका लागि नियमित प्रतिस्पर्धाको अवसर, तालिम र प्रोत्साहन कार्यक्रमले खेलाडिमा आत्मविस्वास बढ्नुका साथै जुनसुकै प्रतियोगिता खेल्न फिट बनाई राख्दछ ।

विविध समस्याका बाबजुद पनि नेपाली महिला फुटबलरहरूको कडा परिश्रम, कठिन प्रयास, त्याग र समर्पणका लागि प्रशंसा गर्नैपर्दछ । देशमा प्रतिभाको अथाह सम्भावना छ, उनीहरुमा उत्कृष्ट खेलाडी बन्ने क्षमता छ जसका कारण हाल धेरै खेलाडीहरू विदेशी क्लबहरूबाट खेलिरहेका छन् जुन एक महत्त्वपूर्ण कोसेढुङ्गा हो । यो उनीहरूको प्रतिभा, कडा परिश्रम र प्रतिबद्धताको प्रमाण हो। राष्ट्रिय टोलीले वर्षौंदेखि प्रदर्शन र नतिजाका हिसाबले निरन्तर प्रगति गरेको छ। महिला फुटबलको दिगो विकासका लागि पूर्वाधार, तालिम, सुविधा र तल्लो तहको विकासमा पर्याप्त लगानी  गर्न सकेको अवस्थामा नेपालमा महिला फुटबलको उज्जवल भविष्य देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्