काठमाडौं/ बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले सगरमाथासहित हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर विश्व समुदायसम्म पुर्याउन खेलकुदलाई प्रभावकारी माध्यम बनाउनुपर्ने बताउनुभएको छ।
हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट (एचएसएम) अन्तर्गत प्ले रग्बी नेपालले नेपाल रग्बी संघसँगको सहकार्यमा आयोजना गरेको ‘एभरेस्ट रग्बी लेगेसी २०२६–२७’ राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै मन्त्री पौडेलले खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी वातावरण संरक्षण, जलवायु न्याय र नेपालको अन्तर्राष्ट्रिय पहिचानसँग जोड्नुपर्ने बताउनुभयो।
आफू सगरमाथा आरोहीसमेत भएकाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव नजिकबाट अनुभव गरेको उल्लेख गर्दै उहाँले नेपालले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि त्यसको गम्भीर असर भोग्नुपरेको बताउनुभयो। विकसित तथा औद्योगिक राष्ट्रबाट हुने उत्सर्जनको प्रभाव नेपालजस्ता मुलुकका हिमाल, प्राकृतिक सम्पदा र हिमाली जनजीवनमा परेको उहाँको भनाइ थियो।
मन्त्री पौडेलले सगरमाथालाई केन्द्रमा राखेर सञ्चालन गरिने खेलकुद गतिविधि र अन्तर्राष्ट्रिय अभियानमार्फत जलवायु परिवर्तनको वास्तविकता विश्वसामु पुर्याउन सकिने बताउनुभयो। खेलकुदको विश्वव्यापी पहुँच उपयोग गरी हिमाल संरक्षण, वातावरणीय सन्तुलन र जलवायु न्यायका पक्षमा साझा आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
नेपालमा रग्बी खेलको विकासका लागि सरकार, खेल संघ, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। विद्यालय तथा समुदायस्तरदेखि रग्बीको विस्तार, खेलाडी उत्पादन, नियमित प्रशिक्षण, प्रतियोगिता सञ्चालन, खेल पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय सहभागिता बढाउनुपर्ने उहाँको भनाइ थियो।
खेलकुद क्षेत्रको संस्थागत विकासका लागि नेतृत्व चयन गर्दा योग्यता, क्षमता र अनुभवलाई प्राथमिकता दिनुपर्ने मन्त्री पौडेलले बताउनुभयो। व्यक्तिगत निकटता वा समूहगत सम्बन्धका आधारमा नेतृत्व चयन गर्ने प्रवृत्तिले खेल क्षेत्रको विकासमा बाधा पुर्याउन सक्ने उल्लेख गर्दै उहाँले पारदर्शिता, सुशासन र जवाफदेहितामा आधारित प्रणाली आवश्यक रहेको बताउनुभयो।
उहाँले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रबीच नीतिगत उद्देश्य तथा कार्यान्वयनका विषयमा स्पष्ट समझदारी र समन्वय हुनुपर्ने धारणा पनि राख्नुभयो। प्रशासनिक अन्योल र समन्वयको अभावले सार्वजनिक काममा अनावश्यक ढिलाइ हुन नदिन कानुनी सीमाभित्र रहेर समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो।
काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित राष्ट्रिय संवादमा नेपालमा रग्बी खेलको विकास, खेलकुद क्षेत्रका नीतिगत तथा संस्थागत चुनौती, नेतृत्वको भूमिका र खेलकुदमार्फत नेपालको हिमाली पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने सम्भावनाबारे छलफल गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्