२०८३ आश्विन १७

बालविवाह न्यूनीकरणका लागि अभिभावक र विद्यार्थीसँग अन्तरक्रिया

चोैतारा | सिन्धुपाल्चोकमा बालविवाह न्यूनीकरणका लागि अभिभावक तथा विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालविवाहका कारण, त्यसले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सामाजिक जीवनमा पार्ने प्रभावबारे अभिभावकलाई सचेत गराउने उद्देश्यले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) अलमले कार्यक्रम आयोजना गरेको हो ।
श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयमा ‘बालविवाहको शिक्षा, सुरक्षित भविष्य र समृद्ध समाजका लागि’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बालविवाह हुनुका प्रमुख कारण, यसका असर तथा बालविवाहपछि बालबालिकाले भोग्नुपर्ने सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी समस्याबारे अभिभावकलाई जानकारी गराइएको थियो। साथै, बालविवाहसम्बन्धी विद्यमान कानुनी व्यवस्था, बालबालिकाको अधिकार तथा बालविवाहले पार्ने दीर्घकालीन प्रभावबारे समेत आधारभूत जानकारी दिइएको थियो ।
अन्तरक्रियाका क्रममा बालविवाह रोकथामका व्यावहारिक उपाय, अभिभावकको जिम्मेवारी, बालबालिकालाई शिक्षामा निरन्तरता दिनुपर्ने आवश्यकता तथा उनीहरूको सुरक्षित भविष्य निर्माणमा परिवार र समुदायको भूमिकाबारे छलफल गरिएको रेष्ट अलमका प्रतिनिधिहरूले बताए ।
कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीले बालविवाह न्यूनीकरणका लागि परिवार, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले समस्या उत्पन्न भएपछि समाधान खोज्नुभन्दा समयमै सचेतना र संवादमार्फत जोखिम रोक्नुपर्नेमा पनि जोड दिइएको थियो ।
कार्यक्रमको अन्त्यमा आयोजक ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) ले ‘सचेत अभिभावक, सुरक्षित बालबालिका, समृद्ध समाज’ भन्ने सन्देशसहित बालविवाहविरुद्धको अभियानमा सबै अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्