मेलम्ची/ मेलम्ची ब्याडमिन्टन एकेडेमीले स्थापनाको १४ वर्षपछि नयाँ नेतृत्व पाएको छ । तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन हुनुभएको छ । सदस्यहरूमा क्रान्ती तामाङ, नारायण सापकोटा, राममणी गौतम, किसन दुलाल र रुद्रशरण श्रेष्ठ निर्वाचित हुनुभएको ऋषि नेपालले जानकारी दिनुभयो । त्यस्तै, लेखा समितिको संयोजकमा दिपेन्द्र दुलाल तथा सदस्यमा राजु सापकोटा र सुदर्शन दुलाल चयन हुनुभएको छ । कार्यक्रम कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नवनिर्वाचित अध्यक्ष नारायणलाल श्रेष्ठले मेलम्ची ब्याडमिन्टन एकेडेमीको संस्थागत विकास, खेलाडी उत्पादन र खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले एकेडेमीले हालसम्म बनाएको पहिचान र प्रतिष्ठालाई अझ उचाइमा पुर्याउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । एकेडेमीका निवर्तमान अध्यक्ष कुमार सापकोटाले १४ वर्षको यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण खेलाडी, सदस्य तथा प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मेलम्ची ब्याडमिन्टनको इज्जत र प्रतिष्ठा जोगाउँदै नयाँ नेतृत्वले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै आफू आगामी दिनमा पनि एकेडेमीको साथमा रहने बताउनुभयो । त्यस्तै, सचिव ऋषि नेपालले दोस्रो अधिवेशनमै आफू जिम्मेवारीबाट मुक्त हुन चाहेको भए पनि कभर्डहल निर्माण सम्पन्न गरेर मात्र जिम्मेवारी हस्तान्तरण गर्न प्रतिनिधिहरूले आग्रह गरेको स्मरण गर्नुभयो । लामो समयको प्रयासपछि कभर्डहल निर्माण सम्पन्न भएसँगै जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा आफू खुसी भएको उहाँले बताउनुभयो । मेलम्ची ब्याडमिन्टन एकेडेमीले २०७८ सालमा औपचारिक रूपमा दर्ता हुनुअघि नै ‘मेलम्ची ब्याडमिन्टन टिम’ का रूपमा गतिविधि सञ्चालन गर्दै आएको थियो । अध्यक्ष कुमार सापकोटा र सचिव ऋषि नेपालको नेतृत्वमा १४ वर्षदेखि निरन्तर गतिविधि सञ्चालन हुँदै आएको एकेडेमीले कभर्डहल निर्माणसँगै विभिन्न प्रतियोगिता आयोजना तथा खेलाडी उत्पादनमा योगदान पुर्याउँदै आएको छ । खेलकुदको क्षेत्रमा मात्र नभई एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडित तथा असहायलाई सहयोग गर्नुका साथै बाढीपहिरो तथा विपद्का समयमा प्रभावितलाई समेत सहयोग गर्दै आएको जनाइएको छ । यसैबीच, दशैँ र तिहारको बीचमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ । उक्त प्रतियोगिताको अवसरमा निवर्तमान कार्यसमितिको औपचारिक बिदाइ तथा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गर्ने तयारीसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्