सिन्धुपाल्चोक | विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ तथा ब्रड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूको सम्झनामा आइतबार साँझ सिन्धुपाल्चोकको चौतारा टुँडिखेलस्थित फल्चामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
जुगल पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, पर्वतारोहणप्रेमी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनीहरूले निर्मल पुर्जा ‘निम्स दाई’सहित ब्रड पिक दुर्घटनामा ज्यान गुमाएका पर्वतारोहीहरूको साहस, समर्पण र नेपालको पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्याएको योगदानको स्मरण गरेका थिए ।
आयोजकका अनुसार पर्वतारोहणका क्रममा ज्यान गुमाएका वीर पर्वतारोहीहरूको योगदानप्रति सम्मान प्रकट गर्दै नयाँ पुस्तामा उनीहरूको संघर्ष, साहस र प्रेरणादायी जीवनयात्राबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा निर्मल पुर्जा ‘निम्स दाई’सँगै ब्रड पिक दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु), ग्याल्जु शेर्पा र नवाङ थिन्डु शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
आयोजकले यस्ता स्मृति कार्यक्रमले पर्वतारोहण क्षेत्रका वीरहरूको योगदानलाई सम्मान गर्नुका साथै उनीहरूको साहस र समर्पणको प्रेरणालाई समाजमा दीर्घकालसम्म जीवित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्