सिन्धुपाल्चोक- मापदण्डविपरीत सञ्चालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक हेल्थ केयर सिल गरिएको छ। सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. तथा बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रा.लि. लाई संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको हो।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) बमोजिम कानुनी कारबाहीका लागि ती स्वास्थ्य संस्था सिल गरिएको हो।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आवश्यक अनुमति नलिई सञ्चालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको, अनधिकृत रूपमा ल्याब तथा एक्स–रे सेवा सञ्चालन गरेको र सम्बन्धित निकायको निर्देशनसमेत पालना नगरेको पाइएपछि कारबाही गरिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइ तथा जनस्वास्थ्य कार्यालयसहित सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले यसअघि दुई पटकसम्म दर्ता, नवीकरण तथा कानुनी प्रक्रियामा आउन पत्राचार गर्दा पनि अटेर गरेपछि सिल गरिएको हो।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले जिल्लाभर बजार तथा निजी स्वास्थ्य संस्थाको अनुगमनलाई थप तीव्र बनाएको जनाएको छ। कानुनविपरीत सञ्चालन भएका तथा मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि आवश्यक कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले पनि सबै निजी स्वास्थ्य संस्थालाई प्रचलित कानुनअनुसार दर्ता, नवीकरण र मापदण्ड पूरा गरेर मात्र सेवा सञ्चालन गर्न आग्रह गर्दै अटेर गर्ने संस्थामाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ।
बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले समेत प्रदेशका १३ वटै जिल्लामा निजी स्वास्थ्य संस्थाको अनुगमनलाई तीव्र बनाइएको जनाउँदै जनस्वास्थ्यसँग खेलवाड गर्ने तथा कानुनी प्रक्रियामा नआउने स्वास्थ्य संस्थामाथि कडा कारबाही गरिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्