चौतारा: चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभित्रका सबै लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रमले नगरपालिकाले बाल स्वास्थ्य तथा रोग नियन्त्रणका क्षेत्रमा हासिल गरेको महत्वपूर्ण उपलब्धिलाई औपचारिक रूपमा घोषणा गरेको हो ।
नगर प्रमुख तथा नगर खोप समन्वय समिति संयोजक कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सीता थापा, वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्याल, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु स्थानीय सरकारको प्रमुख दायित्व रहेको बताए । पूर्ण खोप सुनिश्चितता घोषणा केवल एउटा औपचारिक कार्यक्रम नभई बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्ने दीर्घकालीन अभियानको उपलब्धि भएको उनले उल्लेख गरे । स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक नीति, योजना तथा बजेट व्यवस्थापनमा नगरपालिका निरन्तर सक्रिय रहेको बताउदै उनले ती योजनाको प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणासम्म पुर्याउन स्वास्थ्यकर्मीहरूको अथक मेहनत, महिला स्वास्थ्य स्वयंसेविकाको घरदैलो अभियान, अभिभावकहरूको सचेतना तथा सबै सरोकारवालाको समन्वयले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने गरी नियमित अनुगमन र खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता उनले व्यक्त गरे ।
नगर उपप्रमुख सीता थापाले बालबालिकाको स्वास्थ्य संरक्षणमा खोप सबैभन्दा प्रभावकारी र सुरक्षित माध्यम भएको बताउँदै पूर्ण खोप सुनिश्चितता अभियानलाई निरन्तरता दिन सबै अभिभावक सचेत हुनुपर्नेमा जोड दिइन् । उनले नियमित खोप सेवामा सबैको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।
त्यसैगरी वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतमले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यले मात्रै यस्ता उपलब्धि सम्भव भएको बताउँदै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिने धारणा राखे ।

स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले नगरपालिकाभित्र खोप लगाउनुपर्ने उमेर समूहका बालबालिकाको विवरण, नियमित खोप कार्यक्रमको अवस्था तथा पूर्ण खोप सुनिश्चितताका सूचकहरू प्रस्तुत गर्दै सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेको पुष्टि भएपछि दिगोपना घोषणा गरिएको जानकारी दिए । उनले अबको चुनौती पूर्ण खोपको अवस्थालाई निरन्तर कायम राख्दै प्रत्येक नवजात तथा लक्षित उमेर समूहका बालबालिकालाई समयमै खोप उपलब्ध गराउनु रहेको बताए ।
नगर स्वास्थ्य शाखाका अनुसार पूर्ण खोप सुनिश्चितता घोषणा कुनै अन्तिम उपलब्धि नभई नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी, गुणस्तरीय र दिगो बनाउने प्रतिबद्धताको सुरुआत हो । यस अभियानमार्फत भविष्यमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने सुनिश्चित गर्दै स्वस्थ, सुरक्षित र समृद्ध नगर निर्माणतर्फ नगरपालिका निरन्तर अग्रसर रहने प्रतिबद्धता कार्यक्रममा व्यक्त गरिएको थियो ।
प्रेस पानाबाट
प्रतिक्रिया दिनुहोस्