चौतारा | चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक व्यवस्थित रूपमा नगरपालिका भित्रका सबै वडाहरूलाई समेटेर “नगर कप २०८३ अन्तर वडा रनिङ कप फुटबल प्रतियोगिता” सुरु हुने भएको छ ।

मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न ट्रफी अनावरण तथा खेल तालिका सार्वजनिक कार्यक्रममा बोल्दै नगर उपप्रमुख सीता थापाले नगरपालिका खेलकुद र खेलाडीहरूको विकासमा निरन्तर प्रतिबद्ध रहेको बताइन् । खेल क्षेत्रमा गरिएको लगानी खर्च मात्र नभई खेलाडी उत्पादन र खेल संस्कृतिको विकासका लागि दीर्घकालीन आधार निर्माण गर्ने महत्वपूर्ण कार्य भएको उनको भनाइ थियो ।उपप्रमुख थापाले खेलाडीहरूलाई निरन्तर प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहदेखि सबै सरोकारवाला पक्षले खेलाडीहरूको मनोबल बढाउन भूमिका खेल्नुपर्ने बताइन् ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक रामप्रसाद गौतमले नगर खेलकुद विकास समितिमा नयाँ नेतृत्व आएपछि नगरपालिका भित्र खेलकुद गतिविधि थप सशक्त र व्यवस्थित बन्दै गएको बताए । यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।

नगर खेलकुद विकास समितिका अध्यक्ष रमेश श्रेष्ठले भने फुटबल प्रतियोगितालाई रनिङ शिल्डको अवधारणामा सञ्चालन गर्दै वडा स्तरबाटै खेलकुदको विकास र खेलाडी प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको खेल अवधिभर तीन लाख रुपैयाँसम्मको बीमा गरिएको बताउँदै खेलाडीको सुरक्षालाई उच्च प्राथमिकता दिइएको उल्लेख गरे ।
प्रतियोगिताको बुधबारबाट मेलचौरस्थित दरबारडाँडा खेलमैदानमा सुरू हुने जनाइएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद रु. ३० हजार, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

नगर खेलकुद विकास समितिका अनुसार अब हरेक वर्ष नियमित रूपमा सञ्चालन हुने यस प्रतियोगिताको रनिङ ट्रफी लगातार तीन पटक जित्ने वडाले उक्त ट्रफी स्थायी रूपमा आफ्नो बनाउन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान तथा वडा-वडाबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्