चौतारा/ बागमती प्रदेश सरकारले काठमाडौं–चौतारा लगायतका प्रमुख रुटमा सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। इन्धन मूल्यमा आएको वृद्धिलाई आधार बनाउँदै प्रदेश सरकारले नयाँ भाडादर लागू गरेको हो।
बागमती प्रदेश राजपत्र (खण्ड ९, अतिरिक्ताङ्क २०, मिति २०८२ चैत २७) अनुसार काठमाडौं–चौतारा रुटको बस भाडा रु. २५२ बाट बढाएर रु. ३३१ कायम गरिएको छ। यससँगै यात्रुले प्रति यात्रा रु. ७९ बढी तिर्नुपर्ने भएको छ।
यसैगरी सिन्धुपाल्चोकसँग जोडिएका अन्य रुटहरूमा पनि भाडा वृद्धि गरिएको छ:
| रुट | दूरी | पुरानो भाडा | नयाँ भाडा |
|---|---|---|---|
| काठमाडौं–चौतारा | ७५ कि.मि. | रु. २५२ | रु. ३३१ |
| काठमाडौं–मेलम्ची | ७० कि.मि. | रु. २३५ | रु. २७६ |
| काठमाडौं–बाह्रबिसे | ८८ कि.मि. | रु. ३०३ | रु. ३५७ |
प्रदेश सरकारले यसअघि लागू भाडादरमा १७.३५ प्रतिशत वृद्धि गरी नयाँ दर कायम गरेको जनाएको छ।
भाडा वृद्धिप्रति स्थानीय यात्रुहरूले असन्तुष्टि जनाएका छन्। चौतारा निवासी एक यात्रुले भने, “पहिले नै महँगी बढेको छ, अब यातायात खर्च झन् धान्न गाह्रो भयो।”
दैनिक आवतजावत गर्ने श्रमिक, विद्यार्थी तथा साना व्यापारीहरूलाई भाडा वृद्धिले प्रत्यक्ष असर परेको छ। नियमित यात्रा गर्नेहरूका लागि मासिकरूपमा करिब रु. ३ हजारदेखि ५ हजारसम्म थप खर्च बढ्ने अनुमान गरिएको छ।
यातायात व्यवसायीहरूले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाल आयल निगमले पटक–पटक इन्धन मूल्य समायोजन गरेकाले भाडा वृद्धि अपरिहार्य भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्