जेनजी आन्दोलनपछि राज्यका संवेदनशील निकायहरूमा पुगेर अनधिकृत निर्देशन दिँदै हिँडेका सुधन गुरुङले सांसद बनेपछि पनि त्यस्तै प्रवृत्ति दोहोर्याएका छन् । चुनाव जितेर काठमाडौँ फर्किएलगत्तै सरकारी कार्यालयको अनुगमन र निर्देशनमा व्यस्त रहेका उनले अघिल्लो साता चीन -नेपाल सिमाना सिन्धुपाल्चोकको तातोपानी नाका पुगेर त्यहाँ कार्यरत कर्मचारीलाई कडा निर्देशन दिएको खुलेको हो ।
गत आइतबार श्रीमतीसहित आफैँले गाडी हाँकेर गोप्य रूपमा खासा बोर्डर पुगेका सुधनले त्यहाँस्थित सुक्खा बन्दरगाह र भन्सार कार्यालयको अनुगमन गरेका थिए । त्यस क्रममा उनले त्यहाँको कार्य पद्धतिमाथि प्रश्न उठाउँदै भन्सार अधिकृतसँग डाटा मागेको बुझिएको छ ।
सुधनले नाकामा रहेको आगमन-प्रस्थान ‘वाकथ्रु गेट’ बिग्रेकोमा सोधखोज गर्दै छिट्टै बनाउन निर्देशन दिए । त्यस्तै, ड्राइपोर्टको निरीक्षण गरेका उनले त्यहाँ कार्यरत मजदुरसँग कुराकानी गरेका थिए ।
त्यसपछि भोटेकोशी गाउँपालिका वडा नं ३ कार्यालय पुगेका सुधनले त्यहाँ पनि विभिन्न निर्देशन दिए । पहिले आइएनजीओमा काम गर्दा चिनजान भएका स्थानीयसँग पनि भेटघाट गरे । ‘हामी नेपाल’ नामक एनजिओको संस्थापकसमेत रहेका सुधनलाई बोर्डर पारी जान भने चिनियाँ सुरक्षाकर्मीले नदिएको बुझिएको छ ।
टिओबीसँग जोडिएका सुधनको भ्रमणपछि चिनियाँ सुरक्षा निकायले सामान चेकजाँचमा थप कडाई गरेको भन्सार स्रोतले बताएको छ । दैनिक २० वटासम्म कन्टेनर पास हुने गरेको नाकाबाट उनको भ्रमणपछि तीन-चार वटामात्र छोड्न थालेको भन्सारका कर्मचारीहरू बताउँछन् ।
गोर्खा-१ बाट निर्वाचित उनले यसअघि नेपाल टेलिकमका पदाधिकारीलाई भेटेर डाटा प्याक सकिएपछि प्रयोगकर्ताको मुख्य ब्यालेन्सबाट पैसा काटिने प्रणाली तत्काल हटाउन निर्देशन दिएका थिए । त्यस्तै,सिंहदरबारभित्र निर्माणाधीन संसद भवनको अवलोकन गरेका थिए भने पर्यटन मन्त्रालय र खानेपानी पनि पुगे ।
सुधन जेनजी आन्दोलनमा पानी बाँड्दा बाँड्दै अहिलेको भूमिकामा उक्लिएका पात्र हुन् । उनको कार्यशैली विवाद र आलोचनामा पर्दै आएको छ । सरकारीस्तरको विपद् व्यवस्थापन बैठकमा सामेल भएर कर्मचारीलाई निर्देशन दिँदा उनको चौतर्फी विरोध भएको थियो ।
जन आस्थाबाट
प्रतिक्रिया दिनुहोस्