२०८२ चैत्र ७

कुविण्डेमा १० करोडको शीत भण्डार सञ्चालनमा, कृषकलाई राहत

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा निर्माण गरिएको शीत भण्डार सञ्चालनमा आएको छ । करिब १० करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त शीत भण्डार ३३० टन क्षमताको रहेको छ भने हाल करिब १६५ टन आलु भण्डारण गरिएको छ ।
शीत भण्डार सञ्चालनमा आएपछि स्थानीय कृषकहरूले ठूलो राहत महसुस गरेका छन् । यसअघि उत्पादन भएको आलु भण्डारणको अभावमा कुहिएर खेर जाने समस्या भोग्दै आएका कृषकहरू अहिले भने उत्पादन सुरक्षित राख्न सक्ने अवस्थामा पुगेका छन् ।
नगर प्रमुख कृष्णप्रसाद सापकोटाले शीत भण्डारले कृषकहरूको उत्पादन संरक्षण, बजार व्यवस्थापन र आम्दानी वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार यसले कृषिमा आत्मनिर्भरता बढाउँदै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउनेछ ।
कुविण्डे सहकारीका अध्यक्ष प्रेम प्रसाद सापकोटाले शीत भण्डार सञ्चालनसँगै कृषकहरूलाई सहकारीमार्फत सहज रूपमा सेवा उपलब्ध गराइएको जानकारी दिदै उत्पादनको उचित व्यवस्थापन र लागत घटाउन शित भण्डारले सहयोग पुर्‍याउने बताए ।


स्थानीय कृषक मनरथ नेपालले शीत भण्डार सञ्चालनमा आएपछि कृषकहरूलाई ठूलो राहत पुगेको बताउँदै पहिले आलु कुहिएर खेर जाने समस्या रहेको उल्लेख गरे । त्यस्तै अर्का कृषक प्रेम प्रसाद नेपालले पहिले बीउ भण्डारण गर्न समेत काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता रहेको तर अहिले स्थानीयस्तरमै सुविधा उपलब्ध भएको बताए ।
स्थानीयस्तरमै यस्तो पूर्वाधार निर्माण भएसँगै कृषकहरूको समय र लागत बचत हुनुका साथै उत्पादनको मूल्य पनि उचित रूपमा पाउने विश्वास गरिएको छ । शीत भण्डारले अब कुविण्डेका कृषकहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्