काठमाडौं/ नेपाली कम्युनिष्ट पार्टीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समिति (प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २) द्वारा आयोजित आभार तथा धन्यवाद कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार भगवती नेपालसहित केन्द्रीय, प्रदेश, जिल्ला र सम्पर्क समन्वय समितिका नेता–कार्यकर्ता तथा सर्वसाधारणको व्यापक उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजय हासिल गरेका सांसद युवराज दुलाललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। साथै, नवनिर्वाचित दुलालले जनअपेक्षा अनुरूप प्रभावकारी कार्य गर्दै समग्र सिन्धुपाल्चोक र देशको विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
बागमती प्रदेशबाट नेकपा र कम्युनिष्ट पार्टीहरुको तर्फवाट प्रतिनिधि सभामा एकमात्र सिट जितेको सन्दर्भमा सहभागीहरूले यस उपलब्धिलाई पार्टीको राजनीतिक विरासत जोगाउने महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै गर्वका साथ धन्यवाद दिए।
कार्यक्रममा बोल्दै सांसद दुलालले सम्पर्क समन्वय समिति, नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूले निर्वाचनमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरे। उनले समितिका नेता–कार्यकर्ताले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि सहकार्य र समन्वयका साथ जनसेवामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचनपछि काठमाडौंमा पहिलोपटक आयोजित यस भेटघाटले पार्टी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्