२०८३ आश्विन १६

ज्येष्ठ नागरिक दिवसमा नगरपालिकाको पहल : ७० जनालाई लौरो, असहायलाई घरमै खाद्यान्न

चौतारा/ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण तथा सहयोगका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वडा नं. १३ मा आयोजित कार्यक्रममा ७० जना ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको छ। ज्येष्ठ नागरिकको सहज आवागमन तथा दैनिक जीवनमा सहयोग पुर्‍याउने उद्देश्यले लौरो वितरण गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यलगायत जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो।

यसैगरी वडा नं. १३ का तीन जना ज्येष्ठ, अशक्त तथा एकल व्यक्तिको घरमै पुगेर खाद्यान्न सहयोग गरिएको छ। उनीहरूलाई चामल, दाल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार ज्येष्ठ नागरिक परिवार, समाज र राष्ट्रका अनुभव, ज्ञान, संस्कार तथा प्रेरणाका महत्वपूर्ण स्रोत हुन्। तर सबै ज्येष्ठ नागरिकको अवस्था सहज र सुरक्षित नरहेकाले सहारा तथा सहयोग आवश्यक पर्ने नागरिकसम्म स्थानीय सरकारको सेवा पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो।

नगरपालिकाले ज्येष्ठ नागरिकप्रतिको सम्मानलाई एक दिनको कार्यक्रमका रूपमा मात्र सीमित नराखी उनीहरूको सम्मानजनक जीवन, स्वास्थ्य, सुरक्षा, सामाजिक संरक्षण तथा आवश्यक सहयोगलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्