सिन्धुपाल्चोक — चौतारा अस्पतालमा आपतकालीन अवस्थाको व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम घटना अभ्यास सञ्चालन गरिएको छ। अस्पतालले ईन्द्रध्वज गण तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकसँगको समन्वयमा काल्पनिक घटनामा आधारित आपतकालीन प्रतिकार्य अभ्यास प्रदर्शन गरेको हो ।
अस्पताल परिसरमा सिर्जना गरिएको काल्पनिक घटनामा अस्पताल भवनमा आगलागी भएको परिदृश्य तयार गरी आगो नियन्त्रणका उपाय, फायर सेफ्टी म्यानेजमेन्ट, तथा आवश्यक सामग्रीहरूको लजिस्टिक व्यवस्थापन सम्बन्धी अभ्यास गरिएको थियो । अभ्यासका क्रममा फायर एक्स्टिङ्गुइसर प्रयोग गर्ने तरिका, सुरक्षित निकास तथा आपतकालीन अवस्थामा अपनाइने इन्सिडेन्ट कमाण्ड सिस्टम अनुसारको कार्यप्रणाली प्रदर्शन गरिएको थियो। यसैगरी एलपी ग्यास सिलिन्डर लिकेज भएर आगलागी हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्यसको नियन्त्रण तथा न्यूनीकरणका उपायहरूबारे प्राविधिक जानकारी पनि प्रस्तुत गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीका अनुसार आपतकालीन अवस्थामा अस्पतालमा उपलब्ध मानव संसाधन, उपकरण तथा अन्य स्रोतसाधनको प्रभावकारी परिचालन कसरी गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीलाई व्यवहारिक रूपमा अभ्यास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । साथै विभिन्न विभागका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको भूमिका र जिम्मेवारी स्मरण गराउने पनि अभ्यासको उद्देश्य रहेको उनले बताए ।
अभ्यासमा स्वास्थ्यकर्मी, अस्पताल कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीले यस्ता अभ्यासले सम्भावित विपद्का समयमा समन्वय क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्