२०८२ फाल्गुन २६

नेपाली बक्सरले अस्ट्रेलियामा थन्डरडोम बक्सिङ खेल्ने

अस्ट्रेलियाको पर्थमा आयोजना हुने प्रतिष्ठित ‘थन्डरडोम बक्सिङ च्याम्पियनसिप’ मा सहभागी हुन तीन नेपाली व्यावसायिक बक्सरहरूको शनिबार विदाई गरिएको छ।प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई नेपाल प्रो बक्सिङ कमिसनका अध्यक्ष राजन प्रजापति, नेपाल बक्सिङ संघका सचिव पुष्कर पन्त र म्याक्स बक्सिङ प्रमोशनकी अध्यक्ष मुक्ति थापाले औपचारिक रूपमा बिदाइ गर्दै जितको शुभकामना दिएका थिए। आगामी मार्च ९ मा अष्ट्रेलिया प्रस्थान गर्ने यी खेलाडीहरूलाई विगत तीन महिनादेखि इमाडोल बक्सिङ क्लबकी अध्यक्ष करुणा सुनुवार र प्रोप्राइटर कृष्ण खड्‌काले आवास तथा भोजनसहितको बन्द प्रशिक्षणको व्यवस्था मिलाएकी थिइन।
आगामी मार्च १३ मा हुने उक्त प्रतियोगितामा सुदूरपश्चिमका अनिल पुन (६१ केजी), विकास राणा (६९ केजी) र महेन्द्र बहादुर चन्द (६३ केजी) ले नेपालको तर्फबाट रिंगमा प्रतिस्पर्धा गर्नेछन् । विदाईका क्रममा म्याक्स बक्सिङ प्रमोशनका म्याक्स बस्नेतले यो अन्तर्राष्ट्रिय सहभागिता नेपाली बक्सिङ इतिहासमा एउटा महत्वपूर्ण कोशेढुंगा हुने र यसले विश्वस्तरमा नेपाली मुक्केबाजहरूका लागि नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे। त्यस्तै, नेपाल प्रो बक्सिङ संघका अध्यक्ष राजन प्रजापतिले यस खेलले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई समेत एकताको सूत्रमा बाँध्ने बताए।

नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्