२०८२ फाल्गुन ५

निर्वाचनपछि संघ–संस्था मैत्री कानुन आवश्यक : राजेन्द्र शर्मा

चौतारा/ गैरसरकारी संस्था महासंघ नेपाल का केन्द्रीय उपाध्यक्ष राजेन्द्र शर्मा ले आगामी निर्वाचनपछि गठन हुने सरकारले संघ–संस्था मैत्री कानुन निर्माण गर्नुपर्ने बताएका छन्।

महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकद्वारा आयोजित “स्थानीय कानुन निर्माण प्रक्रियामा नागरिक संघ–संस्थाको भूमिका” विषयक अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै शर्माले नागरिक समाजको सहभागिता सुनिश्चित नगरी लोकतान्त्रिक शासन प्रणाली सुदृढ हुन नसक्ने धारणा राखे। उनले संघ–संस्थालाई साझेदारका रूपमा स्वीकार गर्दै सहकार्यलाई सहज बनाउने कानुनी संरचना आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रम नेपाल पत्रकार महासंघ को सभाहलमा सम्पन्न भएको थियो। जिल्ला शाखाका अध्यक्ष भवानी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश सचिव नरेश श्रेष्ठले स्थानीय कानुन निर्माण प्रक्रियामा नागरिक संघ–संस्थाको भूमिका विषयमा प्रस्तुति दिएका थिए।

सो अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष ध्रुव दंगाल, उपाध्यक्ष कमला पाख्रिन तथा मानवअधिकारकर्मी नातिबाबु धितालले समसामयिक सन्दर्भमा नागरिक समाज र सञ्चार क्षेत्रको भूमिकाबारे धारणा राखेका थिए।

प्रमुख अतिथि शर्माले सिन्धुपाल्चोकमा अन्तर्राष्ट्रिय दातृ निकायको उपस्थिति न्यून रहेको उल्लेख गर्दै पालिकागत सूचकका आधारमा कार्यक्रम विस्तार गर्न संघ–संस्थालाई सुझाव दिए। तथ्यमा आधारित योजना र स्थानीय आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गरिए प्रभावकारी परिणाम प्राप्त हुने उनले बताए।

शाखाका सचिव राजु बी.के.ले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका करिब ४० सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्ने निष्कर्ष निकालेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्