माघ १४, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित कृष्णरत्न गंगा माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा अवलोकन तथा अध्ययन भ्रमण गरिएको छ ।
छिमेकी जिल्ला काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका वडा नं ९ को आयोजनामा माघ १४ गते सम्पन्न उक्त भ्रमण कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ९ अन्तर्गतका ३ वटा विद्यालय सहभागी थिए, जसमा २ वटा आधारभूत विद्यालय र १ वटा माध्यमिक विद्यालय रहेका छन् । भ्रमण टोलीमा जनप्रतिनिधि, शिक्षक–शिक्षिका तथा शिक्षा क्षेत्रका सरोकारवालासहित करिब ४५ जनाको सहभागिता रहेको थियो ।

स्वागत तथा अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले “जति धेरै खर्च गर्यो, त्यति राम्रो शिक्षा पाइन्छ” भन्ने परम्परागत सोचलाई चिर्दै यस्ता सामुदायिक विद्यालयहरूले आम सर्वसाधारणका लागि पनि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने उदाहरण प्रस्तुत गरेको बताइन् । उनले भ्रमणलाई आत्ममूल्याङ्कनको अवसरका रूपमा लिन, आफ्ना कमजोरी पहिचान गरी नयाँ कुरा सिकेर फर्कन आग्रह गर्दै भ्रमणले दुई जिल्लाका दुई पालिकाहरू बीचको सम्बन्धिलाई थप सुदृढ बनाउने विश्वास समेत व्यक्त गरिन् ।

त्यस्तै, पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवारले पनि सीमित स्रोतसाधनका बाबजुद राम्रो व्यवस्थापन, प्रतिबद्धता र नेतृत्व भए गुणस्तरीय शिक्षा सम्भव हुने उल्लेख गरिन । उनले नमुना विद्यालयका असल अभ्यासहरू आफ्ना विद्यालयहरूमा कार्यान्वयन गर्न जोड दिदै सबै सहभागी शिक्षाहरूलाई यस भ्रमणलाई अवसरको रूपमा प्रयोग गर्न सुझाव दिइन् ।
अवलोकन भ्रमणका क्रममा कृष्णरत्न गङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठले विद्यालयले अवलम्बन गर्दै आएको शैक्षिक व्यवस्थापन, सिकाइ–शिक्षण प्रक्रिया, विद्यार्थी सहभागिता, अभिभावक–विद्यालय सहकार्य तथा गुणस्तरीय शिक्षाका पक्षहरूबारे विस्तृत जानकारी दिएका थिए ।
नमुना विद्यालयको शैक्षिक अभ्यास, भौतिक पूर्वाधार तथा प्रशासनिक व्यवस्थापन अध्ययन गरी आफ्ना विद्यालयहरूमा सुधार ल्याउने उद्देश्यसहित उक्त भ्रमण सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्