चौतारा । सिन्धुपाल्चोक जिल्लामा भलिबल खेलको प्रवर्द्धन र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘प्रथम सरोज स्मृति कप–२०८२’ अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
कविण्डे युवा समूहको आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको सहकार्यमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । नेपाल पत्रकार महासंघको भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले खेल मैदान व्यवस्थापन, खेलाडी दर्ता, रेफ्री तथा प्राविधिक टोलीको व्यवस्था, सुरक्षा, स्वास्थ्य सेवा र दर्शक व्यवस्थापनलगायत सबै पक्षलाई ध्यानमा राखेर तयारी गरिएको स्पष्ट पारे ।
भलिबल प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये बाह्रविसे नगरपालिका बाहेक ११ वटै स्थानीय तहका टिमहरूको सहभागिता रहनेछ । यस प्रतियोगिताले जिल्लामा भलिबल खेलको स्तर उकास्नुका साथै खेलाडीहरूलाई स्वस्थ प्रतिस्पर्धामार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
प्रतियोगिता २०८२ साल माघ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहमा विभिन्न तहका जनप्रतिनिधि, खेलकुद क्षेत्रका अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहने जनाइएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनकै क्रममा प्रतियोगिताको टाइसिट समेत निर्माण गरिएको थियो । जसअनुसार प्रतियोगिताको पहिलो दिनको पहिलो खेल पाँचपोखरी थाङपाल गाउँपालिका र बलेफी गाउँपालिकाबीच, दोस्रो खेल सुनकोसी गाउँपालिका र जुगल गाउँपालिकाबीच तथा तेस्रो खेल लिसंखु पाखर गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाबीच हुने तय भएको छ ।
प्रतियोगिताको पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै स्थानीय कलाकारहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ, जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र पदक, दोस्रो हुने समूहलाई नगद ७५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र पदक तथा तेस्रो हुने समूहलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र पदक साथै सान्त्वना स्थान हासिल गर्ने समुहलाई नगद २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब १८ लाख रुपैयाँ बराबरको बजेट अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद समितिका अध्यक्ष रामकृष्ण दंगालले यस्ता प्रतियोगिताले जिल्लामा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । “स्थानीय स्तरका खेलाडीलाई प्रतिस्पर्धाको अवसर दिनु नै भविष्यका लागि राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने आधार हो,” उनले भने । युवाहरूको सक्रियतामा आयोजना हुन लागेको यो प्रतियोगिताको प्रसंशा गर्दै अध्यक्ष दंगालले आयोजकलाई सफलताको शुभकामना समेत दिएका थिए ।

कविण्डे युवा समूहका अध्यक्ष मेखबहादुर न्यौपानेले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकायप्रति आभार व्यक्त गर्दै खेलप्रेमी दर्शकहरूलाई मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्