२०८२ चैत्र १

चौतारामा आजदेखि निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु

सिन्धुपाल्चोक । चौतारामा आजदेखि निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु गरिएको छ । सेवा सुरु भएको पहिलो दिन  ४२ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ । बिरामीहरूको शल्यक्रिया तिलगंगा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डाक्टर रबा थापा सहितको टोलीले गरिरहेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले यो आँखा शिविर अभियानलाई चरणबद्ध रूपमा नगरका सबै १४ वटै वडामा सञ्चालन गरेको थियो । शिविरका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूलाई नगरपालिकाले आफ्नै खर्चमा चौतारामा ल्याई शल्यक्रिया गरिरहेको छ । निःशुल्क सेवा उपलब्ध भएसँगै १०० भन्दा बढी ज्येष्ठ नागरिकको आँखाको मोतियाबिन्दु शल्यक्रिया गर्ने योजना रहेको नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले जानकारी दिए । स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध हुँदा उपचारका लागि टाढा जानुपर्ने र पैसा नहुनेहरुको लागि सजिलो भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले गत वर्ष पनि नगरभित्रका नागरिकलाई लक्षित गर्दै निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा सञ्चालन गरेको थियो। नगर स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन गरिएको शिविर प्रभावकारी बनेपछि यस वर्ष पनि निरन्तरता दिइएको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । नगरपालिकाले शिविरमार्फत आँखा परीक्षणसँगै चस्मा जाँच तथा निःशुल्क वितरणको व्यवस्था पनि गरेको उपप्रमुख सिता थापाले बताइन्। आइतबार र सोमबार चौतारामा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

यस्तै शिविरमा मोतिबिन्दुको शल्यक्रिया गर्न जुगल गाउँपालिकाबाट ३० जना जेष्ठ नागरिक सहभागी भएका छन्। जुगल गाउँपालिका–सेलाङ, निम्लुङ, सन्चगाउँ, गोल्चे, बोल्दे, मान्जे, लुइँडाँडा, चनौटे, बिसिङ्खर र याङ्लकोट गरी विभिन्न वडामा १० दिनसम्म सञ्चालन गरिएको आँखा शिविरपछि मोतिबिन्दु पहिचान भएका जेष्ठ नागरिकहरूको शल्यक्रियाका लागि गाउँपालिकाले चौतारा जान–आउन यातायातको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्