२०८२ फाल्गुन २६

पर्यटकीय क्षेत्र सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

सिन्धुपाल्चोक जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र सुकुटेमा सुकुटे स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटनाको जोखिम उच्च रहेको राजमार्ग क्षेत्र तथा भौगोलिक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा केन्द्र सुरु गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालनमा ल्याएको उक्त सेवा केन्द्रको आज शुक्रबार एक कार्यक्रमबीच निवर्तमान सांसद माधव सापकोटा ‘सुबोध’ ले औपचारिक उद्घाटन गरेका हुन् । उनले आगामी दिनमा सेवा विस्तार गर्दै थप जनशक्ति र उपकरण व्यवस्थापन गरेर सुकुटे क्षेत्रको स्वास्थ्य सेवामा अझ प्रभावकारी सुधार ल्याउने बताए ।
अरनिको राजमार्गसँग जोडिएको सुकुटे क्षेत्रमा दैनिक रूपमा सवारी आवागमन र पर्यटकको चहलपहल बढी हुने भएकाले आकस्मिक स्वास्थ्य सेवाको आवश्यकता थियो । सोही आवश्यकतालाई सम्बोधन गर्दै स्थानीय तहले स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।

221767359803.jpg

नगर उपप्रमुख सिता थापाले सुकुटे स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएसँगै दोलालघाटदेखि बलेफीसम्मका स्थानीय क्षेत्र, साथै बलेफी र सुनकोशी गाउँपालिकाका नागरिकहरू समेत प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।
उपप्रमुख थापाले राजमार्ग क्षेत्रमा हुने आकस्मिक दुर्घटनामा तत्काल उपचार पाउन सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार लामो समयदेखि खाली अवस्थामा रहेको सामुदायिक भवनको सदुपयोग गर्दै सेवा केन्द्र सञ्चालन गरिएको हो ।  नगरपालिकाले प्रारम्भिक चरणमा एक जना अनमी र एक जना अहेब गरी दुई स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको उनले जानकारी दिए। बागमती प्रदेश सरकारको लगानीमा करिब पाँच वर्षअघि निर्माण गरिएको उक्त भवन प्रयोगविहीन अवस्थामा रहेको थियो, जसलाई अहिले स्वास्थ्य सेवाका लागि प्रयोगमा ल्याइएको हो । उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै जनताको सहज पहुँच सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।

स्थानीयवासी तथा सरोकारवालाहरूले सुकुटेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै यसले समयमै उपचार पाउने अवसर बढाउने विश्वास व्यक्त गरेका छन्।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्