काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतासम्बन्धी औपचारिक सहमति भएको छ। बदलिँदो राजनीतिक घटनाक्रम र वैकल्पिक शक्तिहरूको आवश्यकता महसुस गर्दै दुवै दल सुशासन, सामाजिक न्याय र उदार अर्थतन्त्रको साझा एजेन्डासहित एकतामा पुगेका हुन्।
सहमति पत्रमा २०८२ साल भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनसहित विभिन्न जनआन्दोलनमा सहभागी शहीद तथा घाइतेहरूको योगदानलाई स्मरण गर्दै उनीहरूका मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले उठाएको आवाजलाई आगामी राजनीतिक यात्राको मूल आधार बनाइने उल्लेख छ।
एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृति रहने र चुनाव चिन्ह ‘घण्टी’ यथावत रहने सहमति भएको छ। केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ।
नेतृत्व संरचनाअनुसार रास्वपाका अध्यक्ष रवि लामिछाने पार्टीको केन्द्रीय सभापति रहनेछन्। उपसभापतिमा कुलमान घिसिङ, डी.पी. अर्याल र स्वर्णिम वाग्ले रहने सहमति गरिएको छ। साथै उज्यालो नेपाल पार्टीका युवा अभियन्ता तथा विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा पार्टी संरचनामा समायोजन गरिने उल्लेख छ।
सहमति पत्रमा उज्यालो तथा आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणालीको स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई प्राथमिक एजेन्डा बनाइएको छ। आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित नीतिगत, संस्थागत र संरचनात्मक सुधारहरू इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता दुवै पक्षले जनाएका छन्।
यसैबीच, रास्वपाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग पनि वैकल्पिक राजनीतिक सहकार्य र भावी एकताको सम्भावनाबारे समझदारी अघि बढाएको जनाएको छ। सहमतिअनुसार रवि लामिछाने पार्टीको सभापति रहने र आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह बन्ने विषयमा सहमति भएको उल्लेख छ।
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकताले वैकल्पिक राजनीतिलाई संस्थागत आधार प्रदान गर्नेछ भने बालेन्द्र शाहसँगको सहकार्यले जनस्तरको समर्थन थप मजबुत बनाउने सम्भावना देखिएको छ। यसलाई आगामी निर्वाचनमा तेस्रो शक्तिको रूपमा उदाउने प्रयासको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्