२०८२ पुष ६

फिजियोथेरापीदेखि क्यान्सर परीक्षणसम्म , चौतारामा निःशुल्क स्वास्थ्य शिविर

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका द्वारा जेष्ठ नागरिक लक्षित फिजियोथेरापी सेवा तथा महिलाका लागि पाठेघरको मुखको क्यान्सरसम्बन्धी प्रारम्भिक जाँचसहितको निःशुल्क स्वास्थ्य शिविर आईतबार चौतारामा सम्पन्न भएको छ ।

शिविरबाट १३ जना पुरुष र ७७ जना महिला गरी कुल ९० जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। तीमध्ये ९ जना पुरुष र ३१ जना महिला गरी ४० जनाले फिजियोथेरापी सेवा प्राप्त गरेका छन् भने ५३ जना महिलाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गराएका छन्। साथै, शिविरमा सहभागी ९० जनाको सुगर र रक्तचाप परीक्षण समेत गरिएको थियो ।

आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित नगरपालिकाले वडा–वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। यसलाई जनस्वास्थ्य सेवातर्फको उदाहरणीय कदमका रूपमा हेरिएको छ। अहिलेसम्म नगरपालिकाको १,२ र ३  वडामा शिविर संचालन भइसकेको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार वडा नम्बर १ बाट सुरु गरिएको स्वास्थ्य शिविर क्रमशः नगरपालिकाका सबै वडामा विस्तार गरिने योजना रहेको छ।

चौतारा साँगाचोकगढी नगरपालिकाले जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा नियमावली, २०७७ अनुसार आधारभूत स्वास्थ्य सेवाभित्र समावेश फिजियोथेरापी सेवालाई व्यवहारमा उतार्दै वडा–वडामा सञ्चालनमा ल्याएको हो। कानुनी व्यवस्था हुँदाहुँदै पनि धेरै स्थानीय तहमा प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्थामा नगरपालिकाको यो पहललाई उल्लेखनीय मानिएको छ।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्