२०८२ पुष ४

वडादेखि घरआगनसम्म स्वास्थ्य सेवा : चौतारामा निःशुल्क फिजियोथेरापी र VIA शिविर सुरु

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ वडा नम्बर १ बाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको सुरुवात गरेको छ । जेष्ठ नागरिकलाई लक्षित फिजियोथेरापी सेवा र महिलाका लागि पाठेघरको मुखको क्यान्सरसम्बन्धी प्रारम्भिक जाँच (VIA) सहितको शिविर शनिबार वडा कार्यालय भवनमा सम्पन्न भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न शिविर जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा हाडजोर्नी र नसासम्बन्धी समस्या भएका नागरिकलाई लक्षित गरिएको थियो । नगर स्वास्थ शाखा प्रमुख दिनेश नेपालका अनुसार नगरभर करिब ५ सय ३७ जनालाई फिजियोथेरापी आवश्यक रहेको प्रारम्भिक तथ्यांक आएपछि एकैपटक सबैलाई केन्द्रमा ल्याउन सम्भव नभएकाले वडास्तरमै चरणबद्ध रूपमा स्क्रिनिङ र शिविर सञ्चालन गरिएको हो । उनले पहिचान भएका सेवाग्राहीलाई नियमित रूपमा निःशुल्क फिजियोथेरापी सेवा उपलब्ध गराइने बताए ।

वडा नम्बर १ मा मात्रै प्रारम्भिक रुपमा ६९ जनालाई फिजियोथेरापी आवश्यक देखिएको थियो । शिविरमा जम्मा ५१ जनाले सेवा लिएका थिए भने करिब ४७ जनाको स्क्रिनिङ गर्दा १८ जनालाई नियमित फिजियोथेरापी आवश्यक रहेको निष्कर्ष निकालिएको छ । त्यस्तै, करिब १० महिलाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी प्रारम्भिक जाँच (VIA) गराएका थिए, जसमा कसैमा पनि गम्भीर समस्या नदेखिएको स्वास्थ्य चौकी इन्चार्ज अभिषेक गिरीले जानकारी दिए ।

चौतारा साँगाचोकगढी नगरपालिका नागरिक तथा जनस्वास्थ्यप्रति थप संवेदनशील बन्दै गएको देखिन्छ । चालु आर्थिक वर्षमा नगरपालिकाले जेष्ठ नागरिक क्लिनिकका लागि करिब ३१ लाख रुपैयाँ, फिजियोथेरापी सेवाका लागि १० लाख रुपैयाँ र स्वास्थ्य शिविर सञ्चालनका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

घरआँगनमै स्वास्थ्य जाँच र सेवा पाउँदा सेवाग्राहीहरू सन्तुष्ट देखिए पनि दैनिक जीवनमा सहयोगी सामग्रीको अभाव भने अझै चुनौतीका रूपमा रहेको छ । विशेषगरी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि लाठी, ह्विलचेयर, बैसाखी र वाकरजस्ता सहायक सामग्रीको आवश्यकता रहेको स्थानीयले बताएका छन् ।

नगरपालिकाले वडा नम्बर १ बाट सुरु गरेको यो कार्यक्रम क्रमशः नगरका १४ वटै वडामा सञ्चालन गर्ने जनाइएको छ । सबै वडामा स्क्रिनिङ सम्पन्न भएपछि नगरपालिकाको कार्यालय र साँगाचोकलाई केन्द्र बनाएर नियमित तथा निःशुल्क फिजियोथेरापी सेवा उपलब्ध गराइने नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । स्थानीय तहको पहलमा सञ्चालन भएको यस्तो निःशुल्क स्वास्थ्य शिविरले सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्