सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा नगर अपाङ्गता समन्वय समितिको आयोजनामा सम्पन्न लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विशेष कार्यक्रम प्रभातफेरी र संदेशमूलक लोकगीत प्रतियोगितासहित सम्पन्न भएको छ । नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रमले मानव अधिकार र लैङ्गिक समानताप्रति समुदायको सरोकार उजागर गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी १५ समूहले समाजमा विद्यमान लैङ्गिक हिंसा, भेदभाव तथा मानव अधिकारको संवेदनशील विषयलाई गीतमार्फत उठान गरेका थिए । प्रतिश्पर्धीहरूमध्ये रामदेवी माध्यमिक विद्यालयका महिला शिक्षक समूहले उत्कृष्ट प्रस्तुती दिदै प्रथम स्थान हात पारे भने दयाका हातहरू समूह दोस्रो र अपाङ्गता समावेशी समूह तेस्रो भए । त्यसै गरि आहालडाँडा महिला समूह र सिद्धिगणेश महिला समूहलाई सान्त्वना प्रदान गरियो । विजयी समूहहरूले क्रमशः १५ हजार, १० हजार, ७ हजार ५ सय तथा सान्त्वना दुवै समूहले ३–३ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्राप्त गरे ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाले अभियानले स्थानीय तहमा उत्पीडनका रूपहरू पहिचान गर्न र सामुहिक रूपमा समाधान खोज्न सहयोग पुगेको बताउँदै विगतका दिनहरूमा नेपाली जनताले भोगेको शोषण र पीडाको अवस्था हुदै अहिले जनप्रतिनिधिलाई बाटोमा नै भेटेर गुनासो पोख्ने वातावरण सृजना भएको बताए । साथै उनले लक्षित वर्ग को हक हित र अधिकार सुनिश्चित गर्न नगरपालिका सधै तत्पर रहेको बताए ।

कार्यक्रममा नगर उप–प्रमुख सीता थापाले लैङ्गिक हिंसा रोकथामको बाटो समुदायबाटै सुरु हुनुपर्ने उल्लेख गर्दै यस्ता अभियानहरूले समाजमा देखिने मौनता तोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कानुन र संविधानले दिएको अधिकार हामीले व्यवहारमा कार्यनयन गर्न सकेको वा नसकेको कुरा मुल्यांकन गर्न आवश्यक रहेको बताउदै पितृसत्तात्मक सोच र परम्परागत रीतिरिवाज यसको कार्यनयनको सबैभन्दा ठुलो चुनोैती रहेको बताए ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले लैङ्गिक हिंसा तथा मानव अधिकार उल्लङ्घनविरुद्ध सरकारी निकाय, स्थानीय तह, नागरिक समाज र समुदाय सबैको एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गरे । उनले कानुनी रूपमा समानता ल्याउन भएका र बनेका नितिहरू उल्लेख गर्देै कानुनी रूपमा कुनै विभेद नभएको तर सामाजिक रूपमा काहिँ कतै आज पनि हिंसा र विभेद रहेको बताए । साथै उनले यस्ता विभेदको अन्त्य गर्न समाज आफै सचेत हुनुपर्ने आवश्यकता पनि पहिचान गरे ।

आयोजक नगर अपाङ्गता समन्वय समितिका अनुसार १६ दिने अभियानले स्थानीय स्तरमा लैङ्गिक हिंसा तथा मानव अधिकारसम्बन्धी मुद्दाहरू उजागर गर्न, समाजमा रहेका गलत धारणामाथि संवाद सुरु गर्न र सबै तहको समावेशी सहभागिता बढाउन सहयोग पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्