२०८० चैत्र १५

आज शहिद दिवस मनाइँदै

चौतारा,१६ माघ

देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा आज (साेमबार)विविध कार्यक्रम गरी शहिद दिवस मनाइँदैछ  । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहिद दिवस मनाउने चलन रहेकाे हाे । जहानियाँ राणा शासन विरुद्ध विद्रोह गर्ने ४ जना शहिदले शाहदत प्राप्त गरेको समय माघ १० देखि १६ गतेसम्म शहिद सप्ताह मनाउने गरिएको हो ।

शुक्रराज शास्त्रीलाई वि.स. १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो । यिनै महान सपुतहरुको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाउने गरिएको हो ।

सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई सहिद सप्ताहका रूपमा मनाइन्छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिकता कालागि शहिदहरुले दिएका बलिदान अझै पनि टेकुको शुक्र वृक्ष, सिफलको रुख लगायत विभिन्न रुखहरू अनि घटनाक्रमहरूले दिने गरेको छ ।

यी सहिदहरूलाई मसिनो हैन बाक्लो अनि जोडदार स्वरमा सम्झना गर्न जरुरी छ, सहिद गेटमा रहेको सहिदहरूको प्रतिमा देखि गङ्गालाल हृदय रोग प्रतिष्ठान लगायत सहिदका नाममा गठन गरिएका विभिन्न परोपकारी संस्थाहरूले, हुलाक टिकटहरू अनि सरकारी कार्यालयमा झुन्ड्याइएका तस्बिरहरू, सहिदहरूको नाममा बनाइएका बाटाघाटाहरु लगायतले सहिदको महत्त्व हामीलाई बुझाई रहेका छन् ।

स्वतन्त्रताले अनि सार्वभौमिकताको अनुपम अट्टहासमा मुस्कुराई रहेका हरेक नेपाली अनुहारमा सहिदहरूको अनुहार मुस्कुराई रहेको हुन्छ । हिमाल, पहाड अनि तराई सबै तिर सहिदको रगतको रङ्गहरू माटामा मिसिएका छन्, नेपाली आकाशमा उनीहरूको सपना छ अनि नेपाली प्रजातान्त्रिक अभ्यासमा सहिदहरूको निस्वार्थ बलिदान अतुलनीय छ ।

प्रतिक्रिया दिनुहोस्