सिन्धुपाल्चोक । प्राकृतिक स्रोत द्धन्द्व रूपान्तरण केन्द्र, नेपाल सिन्धुपाल्चोक जिल्ला समन्वय तथा सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जल, जमिन र जंगललगायत बहुसरोकारवालाबीच उत्पन्न हुने विवादको रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्थाले बैठकमार्फत हालसम्मका उपलब्धी तथा प्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गरेको छ ।
२०७० सालमा दर्ता भई क्रियाशील रहँदै आएको संस्थाले हाल देशका ४८ जिल्लामा प्राकृतिक स्रोत सम्बन्धी द्वन्द्व रूपान्तरणको काम गरिरहेको छ। सिन्धुपाल्चोक जिल्लामात्र विभिन्न चरणमार्फत ३३ भन्दा बढी बहुसरोकारवाला विवादमा काम गरिएकामा आठौँ चरणमा ५ वटा विवाद सफलतापूर्वक रूपान्तरण गरिएका छन् भने २ वटा विवादमा हाल पनि काम भइरहेको छ ।
संस्थाका अनुसार कार्यसमिति र उपभोक्ताबीचका मनमुटाव, आरोप–प्रत्यारोप, आर्थिक पारदर्शितासम्बन्धी प्रश्न, सिमाना अतिक्रमण, वन विनाशजस्ता कारणले विवादहरू उत्पन्न हुने गरेका छन्। यस्ता विवादलाई समुदायमानै निमार्ण गरिएको ‘माकुरा पद्धति’मार्फत संवाद र सहजीकरण गरी मेलमिलाप गराइएको बैठकमा जानकारी दिइयो।
द्वन्द्व रूपान्तरण प्रक्रियाबाट विवाद समाधान भएपछि समुदायबीच आपसी विश्वास, भाइचाराको सम्बन्ध र सामाजिक एकता मजबुत बन्ने तथा सबै पक्षले ‘जित–जित’को अनुभूति प्राप्त गरेको पाईएको छ । बैठकमा ‘माकुरा समूह’को संरचना, कार्यविधि तथा यसको उपयोगिताबारे पनि विस्तृत प्रस्तुतिकरण गरिएको थियो।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, डिभिजन वनका प्रमुख, मालपोत तथा नापी कार्यालयका प्रतिनिधिसहित सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
राष्ट्र स्रोतब्यक्ती नेत्र धितालका अनुसार बैठक सफलतापूर्वक सम्पन्न गरी आगामी चरणका कार्यक्रम र कार्ययोजनाका लागी सुझाव समेत संकलन गरिएको छ ।
रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्