सिन्धुपाल्चोक । लामो समयदेखि अधुरो बनेको चौतारा मिनी रंगशालाको निर्माण कार्य फेरि एक वर्षपछि अघि बढेको भए पनि भुक्तानी नपाएपछि पुनः रोकिने स्थिति आएको निर्माण कम्पनीले जनाएको छ ।
२०७६ सालदेखि सुरु भएको रंगशालाको निर्माण कार्यको सुरुवाती ठेक्का सुनकोशी गिरी जेभी कन्स्ट्रक्सन सातदोबाटो, ललितपुरले पाएको थियो। तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा दुई पटक म्याद थपिएको भए पनि प्रगतिमा उल्लेख्य सुधार नदेखिएपछि मुख्य कम्पनी सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रा.लिले २०८१ साल जेठ महिना देखि काम ‘टेक ओभर’ गरेको हो।
तर, मन्त्रीपरिषद्को १३औं संशोधनपछि म्याद थप नहुँदा असोज महिनादेखि काम पुनः बन्द भएको थियो। पछि सरकारले सार्वजनिक खरिद नियमावलीको १४औं संशोधनमार्फत विशेष व्यवस्थाअनुसार म्याद थपेपछि पुनः काम अघि बढाइए पनि निर्माण प्रक्रियामा आर्थिक समस्या देखा परेको छ।
निमार्ण ब्यवसायि तथा सुनकोसी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि जे।बी। लिम्बूका अनुसार, “गत सालदेखि हालसम्मको भुक्तानी नआएकाले काम निरन्तरता दिन कठिन भएको छ। भुक्तानी रोकिने हो भने रंगशालाको काम फेरि ठप्प हुनसक्छ,” उनले बताए।
हाल निर्माण कम्पनीले तदारुकताका साथ काम गरिरहेको भए पनि भुक्तानी नहुँदा प्रगति धरापमा पर्ने देखिन्छ। लामो समयदेखि प्रतीक्षारत स्थानीय खेलप्रेमी र खेलाडीहरू भने निर्धारित समयभित्र बाँकी संरचना तयार हुने आशामा छन्।
चौतारा सदरमुकाममा निर्माणाधीन यो मिनी रंगशाला तेस्रोपटक म्याद थपेर अघि बढाइएका परियोजनामध्ये एक हो। अधुरो संरचना पूरा हुन केही समय लाग्ने भए पनि आवश्यक बजेट नआए परियोजना पुनः अनिश्चिततामा धकेलिन सक्ने चिन्ता स्थानीयस्तरमा बढिरहेको छ ।
सामाजिक विकास कार्यालय धुलिखेलका इन्जिनियर कुसुम भट्टराईका अनुसार युवा तथा खेलकुद मन्त्रालयबाट खर्च गर्ने अख्तियारी अझै प्राप्त नभएकाले कार्य अघि बढ्न सकेको छैन। उनका भनाइमा मन्त्रालयबाट आवश्यक स्वीकृति आउने प्रक्रिया अन्तिम चरणमा रहेको र केही दिनभित्र अख्तियारी प्राप्त हुने अपेक्षा गरिएको छ। स्वीकृति प्राप्त भएपछि तत्कालै भुक्तानी प्रक्रिया सुरु गरिने भट्टराईले बताए।
रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्