चौतारा, सिन्धुपाल्चोक — उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौताराले आफ्नो १७औँ वार्षिक साधारण सभा शनिबार चौतारास्थित श्रीकृष्ण रतन गंगा माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ ।

वि.सं. २०६६ साल बैशाख १ गतेबाट औपचारिक रूपमा सेवा सञ्चालनमा आएको सहकारीमा हाल १ हजार ९ सय २ जना शेयर सदस्य रहेको जानकारी सहकारीका अध्यक्ष रामबहादुर कार्कीले दिए । उनका अनुसार सहकारीले उत्पादनमुखी लगानी र सदस्यहरूको आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिँदै अघि बढिरहेको छ ।

कोषाध्यक्ष ललित रानाका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म सहकारीको कुल पुँजी र दायित्व ३३ करोड २५ लाख ९२ हजार १२७ रुपैयाँ पुगेको छ । जसमा ११ करोड ३९ लाख ३० हजार २०० रुपैयाँ शेयर पुँजी रहेको छ । त्यस्तै, सहकारीले २३ करोड ४३ लाख ७६ हजार १६५ रुपैयाँ ऋण लगानी गरी ३ करोड ३२ लाख २७ हजार ४५१ रुपैयाँ आम्दानी आर्जन गरेको जानकारी दिइयो ।

यस वर्षको नीति तथा कार्यक्रम अन्तर्गत सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिमा सक्रियता बढाउने, सहकारी शिक्षा र सदस्य अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, कर्मचारी क्षमता विकास र लगानीपश्चात् अनुगमन प्रणाली लागू गर्ने बताइएको छ । साथै, छात्रवृत्ति कार्यक्रम, एसईई उत्कृष्ट विद्यार्थी सम्मान, जग्गा पहिचान तथा अध्ययन भ्रमणजस्ता योजनाहरू पनि समावेश गरिएको छ । साधारण सभाको अवसरमा ज्येष्ठ दुई सदस्यलाई सम्मान र एसईईमा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले उज्यालो सहकारीलाई नगरकै नमुना सहकारीको रूपमा प्रशंसा गर्दै पारदर्शी, आत्मनिर्भर र समुदायमुखी सेवा विस्तार गर्न सुझाव दिए। वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठले पनि सहकारीले स्थानीय आर्थिक सशक्तीकरणमा पुर्याएको योगदान उल्लेख गर्दै निरन्तरता र पारदर्शिताको आवश्यकता औंल्याए । कार्यक्रममा सहकारीका पदाधिकारी, शेयर सदस्य, स्थानीय प्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्