सिन्धुपाल्चोक/ सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले असोज २० गतेदेखि जिल्लाभित्रका सबै सरकारी कार्यालयले नियमित रूपमा सेवा प्रवाह गर्ने जानकारी दिएको छ।
गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) बाट प्राप्त निर्देशनअनुसार हाल जिल्लामा कुनै जटिल विपद् व्यवस्थापनको समस्या नरहेको भन्दै असोज १६ देखि १९ गतेसम्म रोकिएको सार्वजनिक सेवा अब नियमित रूपमा सञ्चालन हुने जनाइएको हो।
जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको पत्रमा भनिएको छ, “विपद् जोखिम तथा प्रतिकार्यमा तत्कालीन संवेदनशीलताको कारण असोज १६ देखि केही समयका लागि रोकिएको सेवाहरू असोज २० गतेदेखि पुनः नियमित रूपमा सुचारु गरिनेछ।”
प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्लाभित्रका सबै कार्यालयलाई नागरिकसँग सम्बन्धित सेवामा अब ढिलाइ नगरी सुचारु गर्न निर्देशन दिइएको छ।
यसअघि भारी वर्षा र सम्भावित विपद् जोखिमका कारण जिल्लाका सरकारी कार्यालयहरूले असोज १६ देखि अस्थायी रूपमा सेवा रोक्ने निर्णय गरेका थिए।
प्रतिक्रिया दिनुहोस्