२०८२ कार्तिक २

कार्कीको सम्बोधन संविधानको रटानमा सीमित, आन्दोलनको मर्म बेपत्ता

पुर्ण रावल

जेनजी सरकारकी प्रमुख सुशीला कार्कीले असोज ९ गते राष्ट्रका नाममा गर्नुभएको कथित सम्बोधन सम्भवत: नेपालका कुनै पनि प्रधानमन्त्रीले गरेको सबैभन्दा फितलो र अर्थहीन सम्बोधन हो ।

विवादास्पद कानूनी पृष्ठभूमिबाट सेवा निवृत्त भएपछि सरकार प्रमुख भएकी हुनाले होला, उहाँमा आन्दोलन, आन्दोलनको क्रममा भएको नृशंस जनसंहार र संक्रमणकालीन राजनीतिभन्दा वर्तमान कानून र संविधानप्रति माया र प्रभाव नै बढी देखियो ।

सुशीला कार्कीको वक्तव्य जेनजी सरकार निर्माण भएको दिनमै राष्ट्रपती रामचन्द्र पौडेलले घोषणा गर्नुभएको फागुन २१ गतेको संघीय संसदको निर्वाचनको पुनः सूचना वा पुनः प्रचारमा मात्र सीमित हुनु अत्यन्तै निराशाजनक कुरा हो । निर्वाचन आयुक्तको शैलीमा “निर्वाचन समयमै हुन्छ र शान्तिपूर्ण हुन्छ” भन्नका लागि सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नु आवश्यक थिएन ।

यत्रो धनजनको क्षति र युवा सहिदहरूको आलो रगतको आहालमा फुलेको कमलजस्तो सरकारले जेनजी आन्दोलन अघि र पछिका मागहरूलाई गोलमटोल र अस्पष्ट शब्दमा सम्बोधन गर्नु उराठ लाग्दो विषय हो ।

वक्तव्यकै प्रारम्भमा उल्लेख भएको “सीमित कार्यादेश पाएको सरकार” भन्ने वाक्यांशबाट सुशीला कार्कीले आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्न नसकेको प्रस्ट हुन्छ । आन्दोलनको बल र मतलबीपनलाई बुझ्न नसक्ने प्रधानमन्त्रीले आफूलाई कमजोर र निरीह ठान्छन् । सुशीला कार्कीमा पनि त्यही देखियो । यतिबेला उहाँले आफ्नो वरिपरि रहेका ३–४ वटा ठूला दललाई मात्र होइन, जेनजीको भावना अनुसार संविधान र राज्य संरचनामा फेरबदल आवश्यक छ भन्ने कुरा आत्मसात् गर्नु पर्ने थियो । संक्षेपमा भन्नुपर्दा, उहाँको भाषणबाट उहाँ आन्दोलनकारीको प्रतिनिधि नभई कुनै समस्या टार्न ल्याइएकी कार्यकारी मात्र हुन् भन्ने अनुभूति हुन्छ ।

संवोधन सुन्दा “अहिले संसद् विघटन मात्र भएको हो, केपी ओली राजीनामा दिएर भागेकाले मात्र नयाँ सरकार बनेको हो, सुशीलाको सरकार अन्तरिम सरकार मात्र हो, यो सरकारले केही गर्न सक्दैन, र यो सरकार मध्यावधी चुनाव गराउन बनेको हो” भन्नेहरूलाई थप प्रेरणा र हौसला पुगेको विश्वास लाग्छ ।

हाम्रा छोरा–छोरी र नाति–नातिनाले यो आन्दोलनको परिणाम के हो भनेर सोध्यो भने हाम्रो उत्तर के हुने होला ? कुनै जेनजीले आन्दोलनपछि हाम्रो भागमा के पर्‍यो भनी सोध्यो भने हामीले के भन्ने होला ? यो रगत, यो क्षति, यो सपनाको अर्थ के होला ?

के जेनजी पुस्तालाई एउटा गाली सावित गर्दै सामूहिक अवसाद तर्फ धकेल्ने प्रयास गरिएको हो ?

प्रतिक्रिया दिनुहोस्