सबैभन्दा पहिले जेनजी आन्दोलनले के गर्यो, त्यसमा जाऊँ-
दोस्रो- भौतिक रूपमा विध्वंस भयो । र, विध्वंसमा अनुमान पनि लगाउन नसक्ने भौतिक क्षति भएको छ ।
तेस्रो- राजनीतिक रुपमा सरकार ठल्यो । प्रधानमन्त्रीले राजीनामा दिए । अहिले सरकार विहीनताको अवस्था छ ।
बिर्साउने प्रयास भइरहेको छ । तर, हामीले सबैले, अझ आन्दोलनको राप र तापबाट उत्साहित बनिरहेको जेनजीले त झन् बिर्सन हुन्न् कि, भवनमा क्षति भएपनि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता राज्यका निकायको अस्तित्व बाँकी नै छ । सरकारमात्रै काम चलाउ भएको हो । संविधान र संविधानको संरक्षण गर्ने दायित्वमा रहेको राष्ट्रपति भन्ने संस्था पनि बाँकी नै छ ।
जेनजी आन्दोलनको उद्देश्य व्यवस्था परिवर्तन नै रहेको भए हामी अर्कै बाटो हिंड्नुपर्थ्यो । तर, व्यवस्थाभित्रै सुधार रहेकाले हामीले पछिल्लो पटक स्थापित गरेको व्यवस्था, त्यसलाई सञ्चालनका लागि बनाइएको संविधान र व्यवस्थाभित्रका संरचना बाँकी नै छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन ।
हामीले भुल्न नहुने अर्को तथ्य, आफ्नै कारणले आज किनाराकृत परेका होलान। आवाज दमित होला । पश्चातापको चरणमा पनि होलान् । तर, यो देशमा राजनीतिक दलहरू पनि छन्।
संविधान बाहिरको प्रबन्धबाट निकास खोज्न थाल्दा अहिलेको भन्दा ठूलो विद्रोह सन्निकट रहन्छ । किनकि, यो संविधानमा माओवादीको जनयुद्ध, मधेश आन्दोलन, आदिवासी-जनजाति आन्दोलन एवं परम्परागत राजनीतिक दलहरूको लामो लोकतान्त्रिक संघर्षको भावना थोरबहुत समेटिएको छ ।
नयाँ राजनीतिक कोर्षको कुरा गरिरहँदा हामीले अझ अन्तरिम सरकार बनाउने तागतमा आएको जेनजीले अझै भुल्नु हुँदैन, यो देशमा संविधान, संविधानले संस्थागत गरेको व्यवस्था, संवैधानिक प्रबन्धका संरचना र दलहरूको अस्तित्व हिजोको जत्तिकै छ । केही नेतामात्रै असान्दर्भिक भएका हुन् ।
जेनजीहरूले राजनीतिक रूपमा जितेकै छन् । तर, त्यो जीतलाई संस्थागत गर्न बाँकी छ । जीतको उन्माद र आबेगमा सुझबुझपूर्ण काम गर्न सकिएन भने यो जीत क्षणिक उत्साहमै टुंगिन्छ, संस्थागत हुन्न ।
अहिले संविधान र दलीय अस्तित्वलाई अस्वीकार गर्ने हो भने हामी झनै खराब अवस्थातर्फ उन्मुख हुन्छौं । त्यसैले जे गर्नुपर्छ संविधानमै टेकेर गर्नुपर्छ । दलीय छलफल र विश्वासमै गर्नुपर्छ ।
संविधानमा केही खराबी छन् । सुधार गर्नैपर्छ, गरौंला । दलहरँ आफैँमा खराब होइनन्, केही नेताहरूले खराब बनाएका हुन् । यस्तो विषय परिस्थितिबाट सिकेर खराबलाई नेतालाई पन्छाएर दलहरू सच्चिएनन् भने तिनै सकिने हुन् । त्यता पनि धेरै चिन्ता नगरौं । चिन्ता केमा गरौं भने, संविधान बाहिरबाट निकास खोज्दा दलहरूको विकल्पमा नयाँ दलहरू आउने, फस्टाउने र स्वच्छ प्रतिस्पर्धा गर्ने विद्यमान व्यवस्थाले निरन्तरता पाउँछ कि पाउँदैन ।
व्यवस्थाको निरन्तरता तर व्यवस्थाका मुख्य स्टेकहोल्डर दलहरूलाई नजरअन्दाज गरेर संविधान बाहिरको प्रबन्धबाट निकास खोज्न थाल्दा अहिलेको भन्दा ठूलो विद्रोह सन्निकट रहन्छ । किनकि, यो संविधानमा माओवादीको जनयुद्ध, मधेश आन्दोलन, आदिवासी-जनजाति आन्दोलन एवं परम्परागत राजनीतिक दलहरूको लामो लोकतान्त्रिक संघर्षको भावना थोरबहुत समेटिएको छ । व्यवहारिक कार्यान्वयन फितलो रह्यो होला तर जनाधिकारका दृष्टिकोणले पनि कमजोर छैन संविधान । आजको निकासमात्रै हेरेर संविधान बाहिर गइयो भने भविष्यमा यही प्रवृत्तिले प्रोत्साहन पाउँछ ।
संविधान बाहिरबाट निकास नखोजौं भन्नुले जनप्रतिनिधिमूलक संस्था संसदको औचित्य सकिएको छैन भन्ने मेरो धारणा हो भन्ने यहाँहरुले बुझ्नु भएको हो भने सही बुझ्नु भयो ।
अर्को कुरा, हामी दलहरू असान्दर्भिक भएका हुन् भन्ने निष्कर्षमा पुग्ने हो कि केही दलका केही नेता ? मलाई लाग्छ दोस्रो निष्कर्षमा पुग्दा मात्रै हामी वस्तुवादी हुन्छौं ।
जेनजी वा अहिले अन्तरिम सरकार बनाउन समन्वय र वार्ता गरिरहेको नेपाली सेनालाई लाग्दो हो, दलहरूको औचित्य सकियो, अबको प्रक्रिया वा चरणमा उनीहरूलाई बाहिरै राखौं, गैरदलीय अभ्यासमा जाऊँ ।
अबको राजनीतिक कोर्षमा दलहरूको भूमिकालाई नजरअन्दाज गरियो र गैरदलीय अभ्यासलाई बढवा दिइयो भने हामी उनीहरूकै अगुवाइमा हुने अर्को आन्दोलनको प्रतीक्षामा हुने छौं । व्यवस्था र संविधान बचाउन भन्दै उनीहरू सडकमा आए भने के हुन्छ ?
दुई दिने आन्दोलनमा ज्यान बचाउन भागेका वा लुकाइएका नेताहरूले व्यवस्था र संविधानको निरन्तरतामा वक्तव्य दिन थालिसकेका छन् । संख्या थोरै होला उनीहरूका कार्यकर्ता प्लेकार्ड बोकेर सडकमा उत्रिसकेका छन् ।
त्यसैले, अबको राजनीतिक कोर्ष दलहरूले पनि अपनत्व लिने गरी, उनीहरूसँगको पनि समन्वय र सल्लाहमा तय गर्न सकिएन भने फेरि अर्को आन्दोलनको बीउ रोपिन्छ है ।
त्यसैले, जेनजीहरू विजयी उन्मादमा होइन, जिम्मेवारीबोधका साथ फराकिलो दृष्टिकोणका साथ प्रस्तुत हुनुपर्छ । सैनिक मुख्यालयमा सेनापतिसँग वार्ताको रेस थाल्नुअघि उनीहरूले राजनीतिक दलहरु, नागरिक समाज, प्रवुद्ध समूह, निजी क्षेत्र आदिलाई आह्वान गर्दै भन्नुपर्थ्यो, ‘जे भयो भयो, यथास्थितिलाई भत्काउनका लागि भयो । अब व्यवस्था, संविधान, देशहित र जनताको पक्षमा इमानदार काम गर्ने गरी सहकार्य गरेर जाऔं, अगुवाइ हामी गर्छौँ ।’
ढिला त भयो । तर, बेला घड्किसकेको छैन, अझै आह्वान गर्दा पनि हुन्छ ।
व्यवस्था र संविधानको पक्षमा रहेका उनीहरू लज्जा वा हिनताबोधका साथ भए पनि संवादमा आउने छन् । वृहद् राजनीतिक सहमति गर्न सकियो भने आउँदा दिन झनै कठिन हुनेछन् ।
तागतमा त एक्लै फाँडिन्छ जस्तो लाग्छ । तर, गर्नुपर्ने काम अथाह छ । राजनीतिक दलहरूलाई विश्वासमा नलिई गर्न गाह्रो हुन्छ । मैले दल भनेनिरहेको छु, नेता विशेष होइन नि !
देशको कस्तो जर्जर अवस्था त हामीले राजनीतिक सहमति र सहकार्यमा पार लगाएका छौं । टाउकाको मोल तोक्ने र तोकिने मिले मात्र होइन, सहकार्य नै गरेर शान्ति प्रक्रिया अगाडि बढाए ।अहिले त त्यो हदको तिक्तता छैन ।
दीर्घकालका लागि तिक्तता राख्नुपर्ने कारण छैन । र, दलहरूले त आन्दोलनकारीतर्फ तिक्तता व्यक्त गर्ने संगठित फोर्स पनि छैन ।
आफ्नै अकर्मण्यताका कारण सिर्जित परिस्थितिका लागि दलहरूले/नेताहरुले नाती-पनाती पुस्तासँग के तिक्तता राख्नु ?
जेनजी आन्दोलनको उद्देश्य व्यवस्था परिवर्तन नै रहेको भए हामी अर्कै बाटो हिंड्नुपर्थ्यो । तर, व्यवस्थाभित्रै सुधार रहेकाले हामीले पछिल्लो पटक स्थापित गरेको व्यवस्था, त्यसलाई सञ्चालनका लागि बनाइएको संविधान र व्यवस्थाभित्रका संरचना बाँकी नै छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन ।
विजयी उन्मादमा दलहरूलाई अहिले किनाराकृत गरियो । र, त्यसै कारण दलहरू र आउँदो अन्तरिम सरकारबीच दूरी बढ्यो भने अवस्था झन् जटिल हुन्छ। उनीहरूबीच नोकझोंक बढ्दै जाँदा न चुनाव निश्चित हुन्छ, निश्चित भएको चुनावमा पनि मूलधारका भनिने दलले भाग नलिने परिस्थिति बन्न सक्छ ।
अन्तरिम सरकारले गराउने चुनावमा ति दलले भाग लिएनन् भने के हुन्छ ?
त्यसैले, व्यवस्था र संविधानको पक्षमा रहेका शक्तिलाई विशेषतः दलहरूलाई नजरअन्दाज गरेर नयाँ राजनीतिक कोर्ष त सुरु होला । तर, सार्थक परिणामसहित टुंगिदैन ।
हामीलाई नयाँ राजनीतिक कोर्षको सुरूआत मात्रै चाहिएको हो कि जेनजी आन्दोलनका माग र त्यसक्रममा व्यक्त भावनाअनुसार दीर्घकालसम्म कार्य गर्ने संवैधानिक र कानूनी प्रबन्धको सुनिश्चिचता चाइएको हो ?
हामीले दीर्घकालको योजना बनाएका हौं र मुलुकमा फेरि द्वन्द्व नचाहेका हौं भने, हामीले व्यवस्था, संविधान र दलीय सहभागितालाई पटक्कै बेवास्ता गर्नुहुन्न । तर, अहिले निकासका लागि विभिन्न स्वार्थ समूहले योभन्दा फरक बाटो हिंडाउने प्रयास गर्न थालेका छन् । सबैले खबरदारी गर्नुपर्छ । र, सबैभन्दा चनाखो हुनुपर्छ जेनजी पुस्ता ।
प्रिय जेनजी ! भुइँको टिप्न खोज्दा बगलीको नखसोस् है ।
(न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा वरिष्ठ पत्रकार पनि हुन्)
नेपाल प्रेस बाट
प्रतिक्रिया दिनुहोस्