चौतारा । देशभर सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन मंगलबार दोस्रो दिन पनि तीव्र बनेको छ । सोमबारको सरकारी दमनमा १९ जनाको मृत्यु र ४२२ जना घाइते भएपछि आन्दोलन अझ आक्रामक बनेको हो ।
सिन्धुपाल्चोकको चोैतारा मंगलबार बिहानैदेखि युवाहरूको भीडले भरिएको थियो । राष्ट्रिय झन्डा बोकेर, नारा घन्काएर सुरु भएको र्याली बजारका गल्ली हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो ।

“जय देश जय राष्ट्रियता, स्वतन्त्र आवाज हाम्रो अधिकार, विद्यार्थीको हत्या गर्न पाइदैन” भन्ने मागसहित युवाहरूले निरन्तर आवाज उठाए । उनीहरूको नारामा आक्रोश पनि थियो र देशप्रतिको प्रेम पनि मिसिएको थियो ।
एक आन्दोलनकारी युवाले भने, “हाम्रो पुस्ता मौन बस्ने पुस्ता होइन, हामी स्वतन्त्रता र जवाफदेहिताका लागि सडकमा आउन तयार छौं ।” दोस्रो दिनको प्रदर्शनले सन्देश दिएको छ— पुराना नेतृत्व मात्र होइन, नयाँ पुस्ता पनि राष्ट्रको भविष्यलाई आफ्नो काँधमा उठाउन तयार छ ।
प्रतिक्रिया दिनुहोस्